राजदूतमा ‘सैन्य’ कोटा  !

राजदूतमा ‘सैन्य’ कोटा  !

काठमाडौं : सरकारले पूर्व सैन्य प्रमुखदेखि विभिन्न कर्पोरेट र गैरसरकारी संस्थामा आबद्ध व्यक्तिहरूलाई १३ देशको राजदूतमा नियुक्त गर्न सिफारिस गरेको छ। शुक्रवारको मन्त्रीपरिषद् बैठकले भारत, चीन र अमेरिकासहित १३ महत्वपूर्ण देशका लागि नयाँ राजदूतहरू सिफारिस गरेको हो। 

यसपटक सरकारले राजनीतिक भागबन्डा भन्दा पनि सम्बन्धित देशको भूराजनीतिक महत्त्व, कूटनीतिक आवश्यकता र विज्ञतालाई ध्यानमा राखी प्राज्ञिक, सुरक्षा, आर्थिक तथा विकास क्षेत्रका अनुहारहरूलाई अगाडि बढाएको देखिन्छ। यस अगाडि अवकाश पाएका निजामती कर्मचारीले राजदूतमा प्राथमिकता पाउने गरेका थिए। यसको पटक पटक आलोचना समेत हुने गरेको थियो। १३ जनाको सिफारिसमा पूर्व निजामती परेनन्।

तर सिफारिस गरिएका सबैको पृष्ठभूमि शंकारहित भने छैन, यसमा मुख्य भारतका लागि सिफारिस गरिएका निश्चलनाथ पाण्डे, चीनका लागि सिफारिस भएका कल्याणराज शर्मा, अमेरिकाका लागि सिफारिस भएका चिरनजंग थापा र बेलायतका लागि सिफारिस गरिएका गौरव शमशेर राणाको सिफारिस देखिन्छ। 

सरकारले गर्ने नियुक्तिमा पूर्व सैनिक पृष्ठभूमि छुट्ने गरेका छैनन्। यसलाई वर्तमान सरकारमा ‘सेनाको कोटा’ को रूपमा आलोचना हुने गरेको छ। राजदूत नियुक्ति सिफारिसमा पनि यो छुटेन। बेलायतका लागि सिफारिस भएका राणा नेपाली सेनाका प्रधान सेनापति भइसकेका व्यक्ति हुन्।

भारतका लागि राजदूतमा सिफारिस डा. पाण्डे पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेका छोरा हुन्।  वैदेशिक नीतिमा प्राज्ञिक पृष्ठभूमि रहेका उनी सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक समेत हुन्।

यसअघि परराष्ट्र मामला अध्ययन प्रतिष्ठानको नेतृत्व गरिसकेका पाण्डेको छिमेक सम्बन्धप्रतिको दृष्टिकोण समदुरी भन्दा पनि भारतप्रति बढी झुकाव राख्ने गरेको उनका लेखहरूमा देखिन्छ। । 

उनको बुबाको राजपरिवारसँगको निकटता, ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पाण्डेले परराष्ट्र मन्त्रालयमा निभाएको भूमिका र भारतसँगको जटिल र खुला सीमा सम्बन्ध तथा समसामयिक भूराजनीतिक चलखेलकाबीच उनको सिफारिसप्रति मिश्रित प्रतिक्रिया देखिन्छ। 

चीनको राजदूतमा सिफारिस डा. कल्याणराज शर्मा सिनोलोजिस्ट र अर्थशास्त्री हुन्।  चीनसँगको व्यापार, प्रत्यक्ष वैदेशिक लगानी र ‘बेल्ट एन्ड रोड’ मा उनी विज्ञ मानिन्छन्। निजी क्षेत्र र विभिन्न ऊर्जा कम्पनीहरूसँग आबद्ध रहेका उनको कूटनीतिक नियुक्ति स्वार्थको द्वन्द्वसँग समेत जोडिने देखिन्छ।

अमेरिकाका लागि चिरनजंग थापाको विज्ञता कूटनीतिक भन्दा सुरक्षा देखिन्छ।  राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय मामला विज्ञ थापालाई अमेरिकाका लागि राजदूतमा सिफारिस भए। संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गरेको अनुभव भए पनि उनीसँग प्रत्यक्ष कूटनीतिक अनुभवको अभाव र सुरक्षा क्षेत्रसँगको बाक्लो पृष्ठभूमि देखियो।

सरकारको अर्को सिफारिस झन् रोचक देखियो। सार्वजनिक निकायहरूमा समेत सैन्य पृष्ठभूमिका व्यक्तिप्रति रुचि देखिएको सरकारले बेलायतका लागि राजदूतमा नेपाली सेनाका पूर्व प्रधानसेनापति गौरव शमशेर राणालाई सिफारिस गर्यो।

जेनजी आन्दोलनपछि सार्वजनिक निकायमा सैन्य पृष्ठभूमिका व्यक्तिहरूले प्राथमिकता पाउने गरेका छन्। सुशीला कार्की नेतृत्वको सरकारमा नेपाली सेनाका पूर्व रथी वालानन्द शर्मा मन्त्री नियुक्त हुँदा ‘सेनाको कोटा’ भनेर आलोचना भएको थियो।

वर्तमान सरकारले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको अध्यक्षमा पूर्व महासेनानी डा. आनन्दसिंह भाटको नियुक्ति गरेको थियो।

पूर्व उपरथी दीपक प्रसाद बास्तोला नेपाल वायु सेवा निगमको सञ्चालकमा नियुक्त भएका थिए। मेरिट मिचेर भएको नियुक्ति सर्वोच्च अदालतले बदर गरेको थियो।  

राजदूतमा पनि पूर्व सैन्य पृष्ठभूमिलाई प्राथमिकता दिएको छ। राणा यस अगाडि नै स्रोत नखुलेको सम्पत्तिको विवादमा तानिएका व्यक्ति हुन्। नेपाल म्यागेजिनले उनको अर्ब बढीको सम्पत्तिको फेहरिस्त सहित त्यसको शंकास्पद स्रोतबारे खोलमूलक सामग्री प्रकाशित गरेको थियो।

अन्य मुलुकहरूका लागि सिफारिस भएकाहरु 

-जापान: जिग्यानकुमार थापा (द्विपक्षीय सम्बन्ध र आप्रवासन विज्ञ)

-इजरायल: सुरेशकुमार कर्ण (सूचना प्रविधि तथा बैंकिङ क्षेत्रका वरिष्ठ व्यक्तित्व)

-स्पेन: प्राप्ति शेरचन (अन्तर्राष्ट्रिय विकास तथा साझेदारी विज्ञ)

-जर्मनी: शरू जोशी (वैदेशिक रोजगार सुशासन तथा लैंगिक विज्ञ)

-ओमान: डा. पद्माक्षी राणा (दिगो विकास तथा उद्यमी नेता)

-मलेसिया: चूडामणि खरेल (शिक्षा तथा सार्वजनिक प्रशासन विज्ञ)

-दक्षिण कोरिया: प्रा.डा. सङ्गम श्रेष्ठ (जलवायु उत्थानशीलता र जल-सुरक्षा कूटनीतिज्ञ)

-श्रीलंका: डा. मञ्जला झा (सुशासन तथा सङ्क्रमणकालीन न्याय विज्ञ)

-साउदी अरब: गिरीबहादुर सुनार (समाजशास्त्री तथा विकास नेता)

असोज २, २०८३ शुक्रबार २१:४०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।