‘इनसाइड आइसियु’ छायाङ्कनबारे सैनिक प्रवक्ताको दाबी “ आइसियुमा हैन, विशेष वार्डमा खिचेको रहेछ”

‘इनसाइड आइसियु’ छायाङ्कनबारे सैनिक प्रवक्ताको दाबी “ आइसियुमा हैन, विशेष वार्डमा खिचेको रहेछ”

काठमाडौं : भोटेकोशी बाढीका कारण जलविद्युत गृहको सुरुङमा फसेका दुई घाइतेको सैनिक अस्पताल भित्र दुई घण्टासम्म खिचिएको भिडियोबारे सैनिक प्रवक्ता राजाराम बस्नेतले आइसियुमा खिचेको नभई विशेष वार्डमा खिचेको दाबी गरे।

युट्युवर सुरज सिंह ठकुरीले १० दिनपछि उद्धार भएर नेपाली सेनाको अस्पतालमा उपचाररत सञ्जय साह र कबिर महर्जनको अन्तर्वार्ता लिएर आइतबार आफ्नो युट्युब च्यानलमा प्रसारण गरेपछि मेडिकल र पत्रकारिताको आचारसंहिताबारे तीव्र बहस भइरहेको छ।

उनले कार्यक्रमको प्रोमोदेखि युट्युबको हेडलाइनसम्म ‘इन्साइड द आइसियु’ राखेर कार्यक्रम प्रसारण गरेका थिए। पछि हेडलाइन सच्याएर फोटोमा पोस्ट अपरेसन वार्डबाट राखे भने हेडलाइनमा इनसाइड टनेल राखेका थिए।

१० दिन टनेलमा थुनिएर सकुशल उद्धार भएका दुवै घाइतेसँग अन्तर्वार्ता अगाडि अनुमति नलिएको, दुवैको परिवारका सदस्यसँग समेत अनुमति नलिई सैनिक जनसम्पर्क निर्देशनालयको पत्रको आधारमा दुई घण्टासम्म अस्पतालभित्र अन्तर्वार्ता लिएको सार्वजनिक भएसँगै प्रेस काउन्सिल नेपालले ठकुरीसहित सेनाको अस्पतालसँग अनुमतिबारे र मेडिकल काउन्सिलसँग यस्तोमा अपनाउने विधिबारे लिखित जानकारी मागेको थियो। काउन्सिलका अनुसार पत्रको कसैले जवाफ दिएको छैन।

सेनाका प्रवक्ता बस्नेतले पहिलो दिन आफूलाई थाहै नभएको दाबी गरेका थिए। दोस्रो दिन बुझ्दै छौँ भनेका उनले शुक्रवार आइसियु नभई अर्कै विशेष वार्डमा खिचेको दाबी गरे।

 “बाढी आएपछि जुन तीन वटा जिल्लालाई संकट घोषणा गरियो”,सेनाका प्रवक्ता बस्नेतले भने, “त्यसपछि घाइतेको उपचारका लागि सेनाको आर्मी हस्पिटले पनि मेक सिफ्ट वार्ड भनेर बनाएको रहेछ।’ उनले सोही वार्डमा भिडियो खिचिएको र सो विशेष किसिमको वार्ड भएको बताए।

बस्नेतले साह डिस्चार्ज हुने दिन नै विशेष रूपमा तयार गरिएको वार्डमा अन्तर्वार्ता लिएको उनले पुष्टि गरे। साह र उद्धार गरिएमा चिनिया नागरिकलाई एकै दिन डिस्चार्ज गरिएको उनले जानकारी दिए। महर्जनलाई भने त्यो विशेष वार्डबाट नर्मल वार्डमा सारिएको र उनी त्यहीँ उपचाररत रहेको प्रवक्ता बस्नेतले जानकारी दिए।

“जानकारी भएसम्म त्यो दिन डिस्चार्ज हुनुभन्दा अगाडि यो अन्तर्वार्ता भएको भन्ने मलाई जानकारी भएको छ”,सेनाका प्रवक्ता बस्नेतले भने,“यो नर्मल वार्डमा नै लिएको भन्ने मैले बुझेको छु।”

उकेराले पाएको जानकारी अनुसार दुवैको अन्तर्वार्ता आइसियु भित्र संवेदनशील बिरामी राख्न बनाइने आइसोलेसन वार्डमा लिएको देखियो। महर्जनको उद्धारपछि अवस्था जटिल रहेको र आइसियुमा उपचार भइरहेको त प्रधानमन्त्री वालेन्द्र शाहले नै सार्वजनिक गरेका थिए।

घाइते अनि घाइतेको परिवार कसैसँग पूर्व अनुमति नलिई, सेनाको अस्पताल भित्र २ घण्टासम्म अन्तर्वार्ता लिन मिल्छ त भन्ने जिज्ञासामा उनले अन्तर्वार्ता विषय सेनाको अस्पतालको विभाग र कार्यालयले हेरिरहेको बताए।

 “यो विषयमा सम्बन्धित विभागले, सम्बन्धित कार्यालयले हेरिहाल्छ”, उनले भने।

असोज २, २०८३ शुक्रबार २२:१२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।