छोरीको अश्लील भिडियो खिचेर ओ‌मानबाट आमालाई ब्ल्याकमेल गर्ने बिमल छ महिनामै नेपालको जेलमा

छोरीको अश्लील भिडियो खिचेर ओ‌मानबाट आमालाई ब्ल्याकमेल गर्ने बिमल छ महिनामै नेपालको जेलमा

काठमाडौं : अश्लील भिडियो बनाएर १७ वर्षीया नाबालिगलाई पटक-पटक जबरजस्ती करणी र ब्ल्याकमेल गरेको अभियोगमा झापाका २५ वर्षीय बिमल राजवंशीविरुद्ध झापा जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकील कार्यालयले २०८३ असोज १ गते राजवंशीविरुद्ध मुलुकी अपराध संहिता २०७४ र विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत झापा जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो।

अभियोगपत्र अनुसार विर्तामोड नगरपालिका वडा नं. ४ बस्ने धिरेन राजवंशीका २५ वर्षीय छोरा बिमल राजवंशीको २०८१ सालमा सामाजिक सञ्जाल फेसबुकमार्फत १७ वर्षीया नाबालिगसँग चिनजान भएको थियो।

विवाह गर्ने आश्वासन र प्रेमको प्रपञ्च रच्दै प्रतिवादीले २०८१ जेठ ४ गते किशोरीलाई चन्द्रगढी बजारबाट विर्तामोड-३ सैनिकमोडस्थित न्यु बादल होटल एण्ड लजको १०६ नम्बर कोठामा पुर्याएका थिए। सोही होटलमा इच्छा विपरीत पहिलोपटक जबरजस्ती करणी गरी गोप्य रूपमा अश्लील भिडियो खिचेको अनुसन्धानबाट खुलेको छ।

भिडियो सार्वजनिक गर्ने धम्की र निरन्तर शोषण
पहिलोपटकको करणीपछि प्रतिवादीले किशोरीलाई भिडियो देखाउँदै ‘कसैलाई भनेमा अश्लील भिडियो सामाजिक सञ्जालमा हालेर बेइज्जत गरिदिन्छु’ भन्दै निरन्तर ब्ल्याकमेल गरेका थिए। डर र त्रासका कारण किशोरीले घटनाबारे परिवारलाई जानकारी दिन सकिनन्।

सोही भिडियोको डर देखाउँदै प्रतिवादीले पटक-पटक होटलमा बोलाएर तथा म्यासेन्जर/व्हाट्सएपमार्फत नग्न फोटो पठाउन लगाएर किशोरीको शारीरिक तथा मानसिक शोषण गरिरहे। वैदेशिक रोजगारीका लागि ओमान जानुअघि २०८२ असोज २४ गते अन्तिम पटक सोही होटलमा लगेर उनले पुनः करणी गरी भिडियो बनाएका थिए।

ओमान पुगेपछि आमालाई धम्की र रेड कर्नर नोटिस
वैदेशिक रोजगारीको सिलसिलामा ओमान पुगेका बिमलले किशोरीले कुराकानी गर्न छाडेपछि ‘Mon Saibo’ नामको फेक फेसबुक आईडी प्रयोग गरी २०८२ फागुन ५ गते किशोरीकी आमाको म्यासेन्जरमा छोरीको अश्लील भिडियो पठाइदिएका थिए।

आमाले यसबारे थाहा पाएर फोनमार्फत सम्झाउन खोज्दा उल्टै प्रतिवादीले ‘तेरो पनि गोप्य अंगको फोटो पठा, नत्र छोरीको भिडियो अरूलाई पनि पोष्ट गरिदिन्छु’ भन्दै धाकधम्की दिएका थिए।

घटना असह्य भएपछि २०८२ फागुन १२ गते जिल्ला प्रहरी कार्यालय झापामा किटानी जाहेरी दर्ता भएको थियो। नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलमार्फत २०८३ वैशाख ३० गते रेड कर्नर नोटिस जारी गरी ओमान प्रहरीको सहयोगमा बिमललाई पक्राउ गरेर २०८३ भदौ ६ गते नेपाल ल्याइएको थियो।

पीडितको आमाको फेसबुकमा पीडितको भिडियो पठाएको ६ महिनाभित्रै उनी झापा कारागारको जेलमा पुगेका छन्।

कानुनी मागदाबी र सजायको प्रावधान
अनुसन्धानका क्रममा प्रतिवादीले प्रहरी समक्ष फेक आईडी निर्माण गरेको, अश्लील भिडियो र फोटो खिचेको तथा ब्ल्याकमेल गरेको कसूर स्वीकार गरिसकेका छन्।

सरकारी वकील कार्यालयले मुलुकी अपराध संहिता, २०७४ अनुसार अभियुक्त बिमल राजवंशीलाई १० देखि १२ वर्षसम्म कैद, ५ लाख रुपैयाँ जरिवाना र पीडितलाई मनासिब क्षतिपूर्ति भराउन माग गरेको छ।

त्यसैगरी विद्युतीय कारोबार ऐन अन्तर्गत १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय तथा पीडितलाई पर्न गएको मानसिक क्षतिको क्षतिपूर्ति भराउन माग गरेको छ।

अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम प्रतिवादीबाट क्षतिपूर्ति शुल्क निर्धारण गरी पीडित राहत कोषमा जम्मा गराउनसमेत कार्यालयले माग गरेको छ।

असोज २, २०८३ शुक्रबार १०:२३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।