"बाबु, तिमीहरू चाहिँ सुरुङमा नहुनु ल !”
काठमाडौं : रसुवा बाढीमा जेठो छोरा समीर फसेको २२ औँ दिन माधव लामिछानेले सामाजिक सञ्जालमा छोराको तस्विरसहित लेखे “बाबु तिमीहरू चाहिँ सुरुङमा नहुनु ल। सुरुङमा हुनेहरूको मृत्यु कति पीडादायी भयो होला त्यो चिलिमेमा अहिलेसम्म लास बिग्रिएको नहुनुले (मृत्यु भर्खर एक दुई दिन अगाडि भएको) देखिन्छ। सास फेर्न नसकेर तड्पी तड्पी हुने मृत्युभन्दा बाढीमा सिधै परेको भइदियोस् मेरो बाबु लगायतका साथीहरू।"
बाबु तिमीहरू चाहिँ सुरुङमा नहुनु ल। सुरुङमा हुनेहरूको मृत्यु कति पीडादायी भयो होला (त्यो चिलिमेमा अहिलेसम्म लास बिग्रिएको नहुनुले देखिन्छ)। सास फेर्न नसकेर तड्पी तड्पी हुने मृत्युभन्दा बाढीमा सिधै परेको भइदियोस् मेरो बाबु।
भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परेर समीर बेपत्ता छन्। उनी रसुवागढी जलविद्युत आयोजनामा इलेक्ट्रिकल इन्जिनियरका रूपमा कार्यरत थिए।
खोजी तथा उद्धारमा खटिएको टिमले २१ औँ दिन चिलिमेको सुरुङभित्र पाँच वटा शव फेला परे। शवको प्रकृति कस्तो थियो भन्ने सार्वजनिक भएको छैन।
प्लास्टिकमा बेरेर निकालिएको शवको अवस्था नगलेको शंका गर्दै लामिछानेले उनीहरूको मृत्यु केही दिन अगाडि मात्र भएको हुन सक्ने भन्दै आफ्नो छोराले त्यसरी निसासिएर तड्पिँदै मृत्यु वरण गर्नु भन्दा बरु बाढीमा बगेको भए हुने भन्ने पीडादायी कामना गरे।
भोटेकोशीमा आएको बाढीमा परेर सो क्षेत्रका बाढीबाट क्षतिग्रस्त ११ वटा आयोजनामा कार्यरत ९०९ जना सम्पर्कहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था, नेपाल (इप्पान)ले विज्ञप्तिबाट सार्वजनिक गरेको थियो।
त्यसमा अहिलेसम्म दुई नेपाली अनि एक चिनिया नागरिक मात्र सकुशल भेटिए। अन्यमध्ये केहीको शव फेला परेको छ। तर कुन कुन ठाउँबाट कति जनाको शव फेला पर्यो अहिलेसम्म एकमुस्ट सार्वजनिक भएको छैन। सरकारले एकमुस्ट संख्या मात्र सार्वजनिक गरिरहेको छ। हराइ रहेकाहरूको अवस्था अज्ञात छ।
त्रिशुली थ्री-ए को खोजपछि सरकारले चिलिमे चिलिमे जलविद्युत गृह भित्र फसेको अनुमान गरिएका ६ जनाको उद्धारका लागि कुलमान घिसिङको समेत सहयोग माग्यो। घिसिङ समेत खटिएर सकारात्मक नतिजा आउने आशा गरेका थिए। तर उद्धार प्रक्रिया निकै ढिलो भइरहेको थियो। बल्ल बुधवार टोली सुरुङ भित्रको ‘कन्ट्रोल रुम’ क्षेत्रमा त पुग्यो, तर त्यहाँ कोही जीवित भेटिएनन्।
टोलीले त्यहाँ पाँच वटा शव फेला पार्यो। अनि बुधवारै ती शव संकलन गरेर सेनाको हेलिकप्टरबाट नुवाकोट ल्यायो अनि कम्पनीले शवको पहिचान भयो। अर्थात् शवको अवस्था २२ दिनमा पनि पहिचान गर्न सकिने देखियो।
चिलिमे कम्पनीका अनुसार बुधवार फेला परेका शवहरू इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदार श्याम बहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा प्राधिकरणका कर्मचारी लाक्पा तामाङको थियो।
बाढी आएको २२ दिनमा भेटिएको शव सहजै पहिचान हुनुले उनीहरूको मृत्यु बाढी आएकै दिन नभएको देखाउँछ। किनकि २२ दिन अगाडि मृत्यु भएको भए शव गलिसकेको हुने थियो। सहजै शव पहिचान भएपछि बिहीबार परिवारजनलाई बुझाइयो।
सायद यही पक्षले हराइरहेका छोराको पीडामा रहेका बाबुको मन चस्स घोच्यो अनि बिहीबार सामाजिक सञ्जालमा अक्सिजनको अभावले तड्पिएर मृत्यु हुनु भन्दा बरु बाढीमा बगेर सहज मृत्यु होस् भन्ने निकै पीडादायी कामना गर्न एक बाबु बाध्य भए।
OOO
भदौ १० को विनाशकारी बाढीबाट १२ भन्दा धेरै जलविद्युत केन्द्रहरू प्रभावित भएका थिए। अहिलेसम्म ती सबै प्रभावित जलविद्युत केन्द्रभित्रको खोजी र उद्धारको काम सकिएको छैन। यी जलविद्युत गृहहरूमा काम गर्ने ९ सय बढी हराइरहे पनि सुरुङ भित्र भने १ सय २१ जना फसेको दाबी सार्वजनिक भएको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा गत सोमबार आयोजित कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले जलविद्युत आयोजनाका सुरुङभित्र १ सय २१ जना फसेको जानकारी दिएका थिए।
उनले सार्वजनिक गरे अनुसार रसुवागढीमा ५, लाङटाङमा ७, चिलिमेमा ७, अपर त्रिशूली–१ मा करिब ५० र त्रिशूली–३ ‘ए’ मा करिब ४२ गरी १ सय २१ जनाको हाराहारीमा मानिसहरू टनेलभित्र फसेका छन्।
बाढीबाट चिलिमे जलविद्युत आयोजनामा भएको खोजिकाक्रममा बुधवार पाँच शव फेला पर्यो। यसले अझैँ २ जना बेपत्ता देखिन्छ।
माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाबाट अहिलेसम्म कबिर महर्जन र सञ्जय साहको सकुशल उद्धार भयो। यहाँ रहेका थप ४० जनाको अवस्था खुलेको छैन।
माथिल्लो त्रिशूली-१ बाट जम्मा एक जना चिनिया नागरिकको सकुशल उद्धार भयो। बाँकी ४९ जनाको अवस्था अझै खुलेको छैन। रसुवागढी जलविद्युत आयोजनामा ५ जना फसेको दाबी सार्वजनिक भएको छ। उनीहरूमध्ये कसैको अवस्था खुलेको छैन।
७ जना फसेको लाङटाङ खोला जलविद्युत आयोजना र त्रिशूली-३ ‘बी’ मा फसेकाहरूको अवस्था पनि उस्तै अज्ञात नै छ। पीडितहरूको सबैभन्दा ठूलो आपत्ति सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारमा भएको ढिलाइप्रति देखिन्छ।
नेपालमा यस्तो प्रकृतिको विपद्मा खोजी तथा उद्धारमा खटिन न दक्ष जनशक्ति थिए न त पर्याप्त उपकरण। तै पनि नेपाली सेनाकै भरमा सबै सुरुङमा सफल खोजी गर्ने भन्दै सरकार विदेशी विज्ञ बोलाउन तयार भएन।
जब सेनाले आफ्नो बुताले मात्र नभ्याउने थाहा पायो अनि मात्र सरकारले विदेशी विज्ञ टोली र उपकरण मगाएको थियो। त्यसपछि भारत,चीन अनि दक्षिण कोरियाका अनुभवी टिमहरू नेपाल आए।
खोजीका लागि आवश्यक ठूला उपकरणहरू, सुरुङ भित्र जमेको पानी र लेदो फ्याँक्ने उपकरणको अभाव सुरु भयो। यसले नै धेरै समय खायो। स्थलमार्गबाट ठूला उपकरण उद्धार स्थलमा लैजान सकिएन, हवाई मार्गबाट लैजान सक्ने हेलिकप्टर भएन।
यसले पीडित परिवारहरूमा उकुसमुकुस बढायो। उनीहरू माइतीघरसम्म विरोधमा उत्रिए। बिचमा १० दिनपछि सुरुङमा २ नेपाली र एक चिनिया नागरिक सकुशल भेटिएपछि उनीहरूमा आफ्ना पनि यसरी नै जीवित भेटिने आश पलायो। तर बुधवार चिलिमेभित्र शवको चाङ भेटिएको घटनाले सुखद समाचार कुरेर बसिरहेकाहरूलाई निराश बनायो।
अनि छोराको खबर कुरिरहेका एक बाबु विवश भएर सामाजिक सञ्जालमा लेख्न बाध्य भए "सास फेर्न नसकेर तड्पी तड्पी हुने मृत्युभन्दा बाढीमा सिधै परेको भइदियोस्।"
असोज १, २०८३ बिहीबार २३:०८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।