'कार्बन उत्सर्जनको दोष विकासोन्मुख देशलाई दिनु गलत' : भारतीय प्रधानमन्त्री मोदी

'कार्बन उत्सर्जनको दोष विकासोन्मुख देशलाई दिनु गलत' : भारतीय प्रधानमन्त्री मोदी

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्बन उत्सर्जनको जिम्मेवारी विकासोन्मुख देशहरूमाथि गलत रूपमा थोपर्ने गरिएको बताएका छन्।

नयाँदिल्लीमा शनिबार आयोजित वातावरणसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उनले भारतको प्रतिव्यक्ति कार्बन उत्सर्जन विश्वव्यापी औसतको आधाभन्दा कम रहेको दाबी गरे।

"हामी सबैलाई थाहा छ कि कार्बन उत्सर्जनको जिम्मेवारी प्रायः विकासोन्मुख देशहरूमाथि गलत रूपमा थुपारिने गरिएको छ," मोदीले भने, "ऐतिहासिक यथार्थ के हो भने, आज पनि भारतको प्रतिव्यक्ति कार्बन उत्सर्जन विश्वव्यापी औसतको आधाभन्दा कम छ।"

मोदीले विकासोन्मुख तथा ग्लोबल साउथका देशहरूको ऐतिहासिक अवस्थालाई ध्यानमा राखेर जलवायु परिवर्तनको जिम्मेवारीबारे बहस गर्नुपर्ने बताए। भारतले नवीकरणीय ऊर्जालाई प्राथमिकता दिँदै उनले पेरिस जलवायु सम्झौता अन्तर्गतका प्रतिबद्धताहरू समयअगावै पूरा गरेको बताए। उनले गैर–जीवाश्म इन्धनमा आधारित ऊर्जा क्षमता र सौर्य ऊर्जाको विस्तारलाई भारतको जलवायु प्रयासको प्रमुख हिस्सा भएको बताए।

असोज ३, २०८३ शनिबार १२:३१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।