प्रचारमा मुख्य अनुहार, पर्दामा अन्याय!
काठमाडौं : अभिनेत्री नीति शाह आफू अभिनीत फिल्मको प्रचारप्रसारमा सधैँ सक्रियताका साथ खटिन्छिन्। पोस्टर, टिजर होस् या गीत रिलिज- उनी समयमै कार्यक्रममा उपस्थित हुन्छिन् र फिल्मको प्रवर्द्धनमा पूरा समय दिन्छिन्।
तर, पर्दामा भने उनलाई उचित स्थान नदिइएको चर्चा बेलाबेलामा फिल्म वृत्तमा हुने गर्छ, कहिले दृश्य कम राखिएको त कहिले संवाद नै नराखिएको गुनासो सुनिन्छ। बिहीबार उनी अभिनीत नयाँ फिल्म ‘जदौ’को ट्रेलर रिलिज कार्यक्रममा पनि यस्तै दृश्य दोहोरियो।
बिग मुभिजमा आयोजित ट्रेलर रिलिज कार्यक्रमका लागि निर्माण पक्षले दिउँसो साढे १ बजेको समय तोकेको थियो। निर्धारित समयमै नीति कार्यक्रम स्थलमा पुग्दा अभिनेता लगायतका कलाकारहरू भने आइपुगेकै थिएनन्। कार्यक्रम स्थलमा उनका अलावा मुकुन भुसाल पनि थिए, तर सञ्चारकर्मीको ध्यान भने नीतितर्फ नै बढी केन्द्रित रहेको देखिन्थ्यो।
निर्धारित समयभन्दा झन्डै दुई घण्टा ढिलो गरी मात्र कार्यक्रम सुरु भयो। निर्माण टिमले २ मिनेट २२ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गर्यो। तर, ट्रेलर हेरिसकेपछि त्यहाँ उपस्थित धेरैलाई अचम्मित बनायो। कारण थियो, नीति शाहलाई केही दृश्यमा झलक्क मात्र देखाइएको थियो भने उनको एउटै पनि संवाद (डाइलग) समावेश थिएन।
मुख्य अभिनेत्रीलाई नै ट्रेलरमा डाइलगविहीन बनाइएपछि सञ्चारकर्मीले प्रश्नोत्तर सेसनमा नीतिलाई सिधै सोधे, “ट्रेलरमा तपाईंको डाइलग किन नराखिएको हो?”
प्रश्नपछि नीतिले आफूलाई पनि त्यस्तै लागेको भन्दै मञ्चमै रहेका निर्देशकतर्फ हेरेर भनिन्, “मलाई किन अलिकति कम देखाउनुभएको होला? सायद सरले केही सोचेरै ट्रेलरमा कम राख्नुभएको होला, सस्पेन्सका लागि पो हो कि?”
नीतिले हाँसेरै जवाफ दिए पनि उनको अभिव्यक्तिमा केही असन्तुष्टि र आश्चर्य भने प्रस्टै झल्किन्थ्यो। निर्देशक काजी लिम्बूले यस विषयमा आफ्नो बचाउ गर्दै भने, “कम र धेरै भन्दा पनि केले प्रतिनिधित्व गरेको छ भन्ने कुरा मुख्य हुन्छ। तपाईंहरूले ट्रेलरमा उहाँलाई कमै देख्नुभयो होला, संवाद पनि सुन्नुभएन होला। तर, उहाँले दिनुभएको एक्सप्रेसनबाटै बुझ्न सक्नुहुन्छ कि फिल्ममा मुख्य भूमिका कसको हो भनेर।”
फिल्मको प्रचारप्रसारमा मुख्य अनुहारका रूपमा अगाडि सारिने कलाकारलाई ट्रेलरजस्तो मुख्य प्रचार सामग्रीमै डाइलगविहीन बनाइनु कति स्वाभाविक हो ? निर्देशकले सस्पेन्स र भावको कुरा गरे पनि मुख्य अभिनेत्रीलाई नै छायामा पारिएको विषय न्यायसम्मत हो त ? फिल्म वृत्तमा प्रश्न उठेका छन्।
असोज २, २०८३ शुक्रबार २०:३५:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।