अनियमितता अनुसन्धान गर्न एन्फाको कार्यालयमा सिआइबीको छापा !

अनियमितता अनुसन्धान गर्न एन्फाको  कार्यालयमा सिआइबीको छापा !

काठमाडौं :  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालयबाट कागजात नियन्त्रणमा लिएको छ। ब्यूरोको टोलीले अनुसन्धान लागि भनेर शुक्रबार ललितपुरस्थित सातदोबाटोमा रहेको कार्यालयबाट कागजातहरू नियन्त्रणमा लिएको हो।

एन्फाको कार्यालयबाट कागजात नियन्त्रणमा लिएको पुष्टि गर्दै सिआइबीका प्रवक्ता अनुपम शमशेर जबराले उकेरालाई भने, “कागजात नियन्त्रणमा लिन एउटा टोली पुगेको छ। फर्केको छैन।”

आर्थिक अनियमिततासम्बन्धी उजुरी परेपछि ब्यूरोले अनुसन्धानको लागि कागजात नियन्त्रणमा लिएको अनुपमले जानकारी दिए।

पछिल्लो समय एन्फा पदाधिकारी र शिक्षा तथा खेलकुद मन्त्रालयबीच विवाद चर्किएको छ। विवादकै बिच एन्फालाई फिफाले प्रतिबन्ध लगाएको थियो। प्रधानमन्त्री मुख्य सल्लाहकार कुमार व्यञ्जनकारले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ्गलाई राजीनामा दिन दबाब बढाएको एन्फाका एक अधिकारीले उकेरालाई जानकारी दिए। 

शिक्षा तथा खेलकुद मन्त्रालयमा खेलसम्बन्धी गतिविधि हेर्ने गरी व्यञ्जनकारका दाई सिद्धि व्यञ्जनकारलाई सल्लाहकार र सचिवालयमा राजु सिंहलाई नियुक्त गरिएको थियो। खेलसम्बन्धी सबै काम यी दुबैले हेर्दै आएका छन्।

बुधबार मात्रै काठमाडौंको होटल क्राउन इम्पेरियल होटलमा एन्फा अध्यक्ष नेम्वाङ्ग लगायतका पदाधिकारीले सरकारलाई दबाब दिने भनेर कार्यक्रम गरेका थिए। लगत्तै आर्थिक अनियमितताको छानबिन गर्ने भन्दै सीआइबीले कार्यालयमा छापा मारेको छ।

एन्फा सरकारी अनुदान पाउने निकाय भएकाले यसमा कुनै आर्थिक बदमासी भए अनुसन्धान गर्ने निकाय प्रहरी नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो। एससएपी अनुपमले आर्थिक अनियमितताको उजुरी आएको दाबी गरे पनि कस्तो उजुरी हो भन्ने खुलाएका छैनन्।

एन्फाले यस अगाडि 'ए'देखि 'सि' डिभिजन लिगसम्मको मार्केटिङका लागि निर्माणसम्बन्धी कम्पनीलाई अनधिकृत रुपमा टेण्डर दिएको उकेराले प्रमाणसहित सार्वजनिक गरिसकेको छ। वर्तमान मन्त्री सुनिल लम्सालको निर्माणसम्बन्धी कम्पनीले एन्फाबाट फुटबल प्रतियोगिताको टेण्डर पाएर पछि नाम र उद्देश्य बदलेका थिए। 

पछिल्लो समय निलम्बनबारे मन्त्रालय निष्क्रिय बसेपछि एन्फाले सरकारबाट ठोस जवाफ नआए आउँदो सोमबारदेखि फिफाकै गाइडलाइन पछ्याउँदै आफ्ना गतिविधि गर्ने बताएको थियो। 

विधान अनुसार तोकिएको समय अगाडि नै निर्वाचन गर्ने अखिल नेपाल फुटबल संघको निर्णयले नै अहिलेसम्मको अवस्थामा आएको छ। अर्ली एलेक्सनविरुद्धको निर्णय अदालत हुँदै सरकारी तहबाट हस्तक्षेप बढ्दा नेपालको फुटबल विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को निलम्बनमा परेको थियो। 

फिफाले पत्रमा सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निरन्तरको हस्तक्षेप र एन्फाको स्वायत्ततामाथिको प्रहारका कारण निलम्बनको निर्णय गरेको जनाएको थियो।

२०२६ जुन २४ मा एन्फा महासचिव किरण राईलाई आएको पत्रमा एन्फा निलम्बनमा परेको निर्णय थियो। यसअघि ५ जुनमा फिफा र एएफसीले पठाएको अन्तिम चेतावनीलाई राखेपले बेवास्ता गरेपछि नेपाली फुटबलमाथि विश्वकपको माहौलकै बीच एन्फालाई निलम्बन गरेको थियो।

असोज २, २०८३ शुक्रबार १९:०७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।