पाकिस्तानमा बम विस्फोट हुँदा छ सैनिकको मृत्यु

पाकिस्तानमा बम विस्फोट हुँदा छ सैनिकको मृत्यु

एजेन्सी : उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारीमाथि विस्फोट हुँदा छ जना सैनिकको मृत्यु भएको छ।

घटनापछि सुरक्षा बलले गरेको छुट्टाछुट्टै कारबाहीमा पाकिस्तानी तालिबानका सदस्य रहेको आशंका गरिएका १० जना मारिएको पाकिस्तानी सेना र प्रहरीले शुक्रबार जनाएको छ।

खैबर पख्तुनख्वा प्रान्तको हङ्गु जिल्लामा बिहीबार सुरक्षा बलको सवारीलाई लक्षित गरी बम विस्फोट गराइएको स्थानीय अधिकारीहरूले बताएका छन्। विस्फोटमा छ सैनिकको मृत्यु भएको पुष्टि गरिएको छ।

सेनाका अनुसार उत्तरी वजीरिस्तान र हङ्गु जिल्लामा बिहीबार गरिएको विभिन्न गुप्तचर सूचनामा आधारित कारबाहीका क्रममा हतियारधारी लुकेका स्थानमा छापा मारिएको थियो। ती कारबाहीमा १० जना आतङ्ककारी मारिएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ।

सेनाले मारिएका व्यक्तिलाई ‘ख्वारिज’ भनेको छ। पाकिस्तानी सरकारले तहरीक-ए-तालिबान पाकिस्तान (टिटिपी) का सदस्यलाई जनाउन उक्त शब्द प्रयोग गर्दै आएको छ। टिटिपी अफगानिस्तानमा सन् २०२१ मा पुनः सत्तामा आएको तालिबानबाट अलग सङ्गठन भए पनि दुवैबीच सम्बन्ध रहेको बताइन्छ।

पाकिस्तानमा यस वर्ष पनि सुरक्षा बलमाथि भएका विभिन्न आक्रमणमा सैनिक मारिएका छन्। गत जुनमा हतियारधारीसँग भएको भिडन्तमा पाकिस्तानी रेन्जर्सका तीन सैनिक मारिएका थिए भने चार जना घाइते भएका थिए।

पाकिस्तानले अफगानिस्तानमा रहेको तालिबान सरकारमाथि टिटिपीलाई आश्रय दिएको र सीमापारबाट हुने हतियारधारीको आक्रमण रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै आएको छ। अफगानिस्तानको राजधानी काबुलस्थित सरकारले भने पाकिस्तानका यस्ता आरोपलाई पटक-पटक अस्वीकार गर्दै आएको छ।

असोज २, २०८३ शुक्रबार १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।