कांग्रेसको वडा अधिवेशन सर्ने ‘हल्ला’ मात्र, निर्वाचन समितिले भन्यो-सर्दैन

कांग्रेसको वडा अधिवेशन सर्ने ‘हल्ला’ मात्र, निर्वाचन समितिले भन्यो-सर्दैन

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट पारेको छ। 

सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा महाधिवेशन र वडा अधिवेशन सर्ने हल्ला चलाइएको भन्दै समितिले कुनै पनि हालतमा कार्यतालिका प्रभावित नहुने जनाएको हो। 

बुधवार केन्द्रीय निर्वाचन समितिले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले तोकिएकै मिति (असोज ३ गते) मा वडा अधिवेशन प्रारम्भ हुने बताए। 

उनले संविधान, पार्टी विधान र सर्वोच्च अदालतको फैसलाअनुसार पनि अधिवेशन सार्ने कुनै आधार नभएको स्पष्ट पारे।  खड्काले ७७ वटै जिल्लामा निर्वाचन अधिकृतहरू खटिसकेको र अधिकांश वडामा मतदान अधिकृतहरू समेत पुगेर तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। 

पत्रकार सम्मेलनमा बोल्दै संयोजक खड्काले भने, ‘१५औँ महाधिवेशन सर्दै छ भन्ने कुरा फेसबुकमा सबै ठाउँमा आएको छ। तर यो अधिवेशन सर्ने अवस्था होइन। ३ गते जुन वडा अधिवेशन हुँदै छ, त्यो सर्दैन, अगाडि बढ्छ।’

उनले सर्वोच्च अदालतको आदेश र विधिको शासनलाई आधार मान्दै अधिवेशन सार्न नसकिने बताए। 

सङ्घीयताको मूल मर्मलाई आत्मसात् गर्दै निर्वाचन प्रक्रिया विकेन्द्रित गरिएको जानकारी दिँदै उनले जिल्ला सभापतिहरूसँग समन्वय गरेर प्रत्येक वडामा मतदान अधिकृतहरू खटाइएको बताए। 

भदौ ३१, २०८३ बुधबार १९:१७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।