भोटेकोशी बाढीमा बेपत्ता भएका ४७ कर्मचारीका परिवारलाई विद्युत् प्राधिकरणले ५० हजार राहत र मासिक भत्ता दिने
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले भोटेकोशी बाढीमा परी बेपत्ता भएका ४७ जना कर्मचारी तथा कामदारका परिवारलाई तत्काल ५० हजार नगद राहत र स्थायी कर्मचारीको हकमा ६ महिनासम्म ५० प्रतिशत मासिक तलब उपलब्ध गराउने भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता भएका कर्मचारी/कामदारका आश्रित परिवारलाई बेपत्ता खोजी कार्य गर्न, आफ्नो कुल धर्म अनुसारको सामाजिक संस्कार गर्न र जिवनयापन गर्नको लागि राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले बताए।
उनका अनुसार राहतको पहिलो प्याकेजमा तत्कालका लागि राहतस्वरूप बेपत्ता भएका स्थायी, ज्यालादारी तथा सेवा करारका कामदारको नजिकका हकवालालाई प्रतिकर्मचारी/कामदार ५० हजार उपलब्ध गराउने निर्णय भएको छ।
दोस्रोमा स्थायी कर्मचारीको नजिकको हकवालालाई प्राधिकरणबाट के कति क्षतिपूर्ति वा के रकम दिने भन्ने सम्बन्धमा अर्को निर्णय नभएसम्मका लागि वा भदौदेखि बढीमा ६ महिनाका लागि बेपत्ता भएका स्थायी कर्मचारीको नजिकको हकवालालाई बेपत्ता कर्मचारीको तहको सुरु तलब स्केलको ५० प्रतिशत रकम निर्वाहस्वरूप उपलब्ध गराउने निर्णय भएको छ ।
बाढीका कारण १३ वटा जलविद्युत् आयोजनामा क्षति भएको छ भने थुप्रै आयोजनाको कर्मचारी र कामदारहरू बेपत्ता छन्। प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी र कामदार बेपत्ता छन्।
असोज १, २०८३ बिहीबार १८:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।