पूर्वसभापति देउवालाई महाधिवेशनमा सहभागी गराउन अन्तिम समयसम्म प्रयास गर्ने गगनको प्रतिबद्धता
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आगामी असोज ३ गतेदेखि सुरु हुने पार्टीको अधिवेशन उद्घाटन गरिदिन पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गरे।
बिहीबार पार्टी केन्द्रीय कार्यसमिति बैठकमा उनले अधिवेशनको दिन पूर्व सभापतिले आएर कार्यक्रम उद्घाटन गर्नु पार्टीका निम्ति सम्मानको विषय हुने धारणा राखे।
"पर्सि हाम्रो अधिवेशन छ, अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति त्यो ठूलो सम्मानको विषय हुन्छ," थापाले भने।
पार्टीभित्र सबैलाई समेटेर लैजान आफू लचकता अपनाउन तयार रहेको भन्दै उनले अधिवेशनको विषयमा कुनै अलमल नगरी सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।
सँगै बसेर अधिवेशन गर्न नसकिने वा छुट्टै गतिविधि गर्नुपर्ने कुनै पनि कारण र अवस्था नरहेको भन्दै उनले भने, "त्यसैले सबै सँगै जोडिऔँ।" सबैलाई समेटेर लैजाने दायित्व आफ्नो भएकोले के-कस्तो लचकता अपनाउनुपर्ने हो र कसरी मिलाएर लैजानुपर्ने हो, त्यसका लागि आफू पूर्ण रूपमा तयार रहेको उनले बताए।
थापाले भने, "म पार्टीको जिम्मेवारीमा भएपछि मैले समेटेर लिएर जाने कुराहरूको सन्दर्भमा केमा लचकता राख्नुपर्ने हो, कसरी लिएर जानुपर्ने हो, मैले काम गर्छु। सबैलाई मिलाएर लैजान जान म तयार छु।"
थापाले १५ औँ महाअधिवेशन उद्घाटन हुने दिनको बिहानसम्म पनि पूर्व सभापति देउवालाई कार्यक्रममा सहभागी गराउन आफू प्रयास गर्ने बताए। पार्टीलाई एकढिक्का बनाउन र सबैलाई जोड्नका लागि आ-आफ्नो ठाउँबाट निरन्तर पहल र कोसिस गर्न उनले नेता-कार्यकर्तालाई पनि आह्वान गरे।
असोज १, २०८३ बिहीबार १६:०१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।