रियल-टाइम निगरानीका लागि 'सिचुएसन रुम' र नेपालमै ड्रोन उत्पादन गर्ने मन्त्री पुनको तयारी

रियल-टाइम निगरानीका लागि 'सिचुएसन रुम' र नेपालमै ड्रोन उत्पादन गर्ने मन्त्री पुनको तयारी

काठमाडौं : विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद् प्रभावित क्षेत्रमा मन्त्रालयले राहत व्यवस्थापनदेखि डीएनए परीक्षण, वैज्ञानिक प्रयोगशालाको पुनर्स्थापना तथा पूर्वचेतावनी प्रणाली विकाससम्मका काम गरिरहेको बताएका छन्।

पुनले विपद् व्यवस्थापन र उद्धार कार्यलाई प्रविधिमैत्री बनाउन नेपालमै ड्रोन उत्पादन गर्ने र वास्तविक समय (रियल-टाइम) मा निगरानी गर्न 'सिचुएसन रुम' स्थापना गर्ने योजना अघि सारेको बताए। 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथिको छलफलका क्रममा मन्त्री पुनले विपद्को अवस्थाबारे पूर्वअनुमान गर्न, जोखिमको वास्तविक समयमै निगरानी गर्न र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोग अपरिहार्य बनेको उल्लेख गरे।

उनले विपद् उद्धारमा ड्रोनको उपयोगिता उच्च देखिएको तर विदेशबाट खरिद गर्दा महँगो पर्ने भएकाले दीर्घकालीन रूपमा नेपालमै ८० देखि १०० किलोग्रामसम्म भार बोक्न सक्ने ड्रोन उत्पादनको सम्भावनाबारे काम अघि बढाइने जानकारी दिए। हाल चीन र यूएईबाट सोही क्षमताका ड्रोन सहयोगस्वरूप प्राप्त भई सञ्चालनमा रहेका छन्।

यस्तै, पुनले भू-उपग्रह र एआई प्रविधिमा आधारित भई विपद्को एकीकृत निगरानी र पूर्वानुमानका लागि अत्याधुनिक 'सिचुएसन रुम' स्थापना गर्ने विषयमा छलफल भइरहेको बताए।

मन्त्री पुनले विदेशबाट प्राप्त राहत सामग्री बुझ्ने र सम्बन्धित क्षेत्रमा पुर्याउने काम भइरहेको जानकारी दिए। उनका अनुसार राहत सामग्री बोकेका जहाजबाट दैनिक दुई–तीन ट्रिपसम्म सामग्री आइरहेको छ।

विपद्पछि बेपत्ता तथा मृतकको पहिचानका लागि डीएनए परीक्षणको काम राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाट भइरहेको उनले बताए। नास्टमा दैनिक करिब ४० देखि ५० वटा नमुनाको परीक्षण भइरहेको र यसमा नेपाली तथा चिनियाँ प्राविधिक टोली संलग्न रहेको उनको भनाइ छ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा हालसम्म मृतकका १ हजार ५६२ वटा डीएनए परीक्षणका नमुना प्राप्त भएको मन्त्री पुनले जानकारी दिए। त्यस्तै, बुटवलमा बेपत्ता व्यक्तिका आफन्तबाट डीएनए नमुना संकलन तथा परीक्षणका लागि ९८ जनाको प्रक्रिया अघि बढाइएको उनले बताए।

डीएनए परीक्षणमा सहयोग गर्न भारतबाट नौ जना विशेषज्ञ आएको र चीनबाट १५ जनाको टोली खटिएको पनि मन्त्री पुनले जानकारी दिए। 

विपद् आएपछि मात्र सक्रिय हुने परिपाटी अन्त्य गर्दै हिमताल विस्फोट, पहिरो तथा भूकम्प मापनका लागि वैज्ञानिक प्रयोगशाला र मापन केन्द्रहरूलाई मर्मतसम्भार गरी नियमित सञ्चालनयोग्य अवस्थामा राखिने उनले बताए।

भदौ ३१, २०८३ बुधबार १३:४९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।