कर्जाको माग सुस्त बनेपछि बैंकहरूले घटाए असोज महिनाको मुद्दति निक्षेपको ब्याजदर
काठमाडौं : बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिने र कर्जाको माग सुस्त हुने क्रम जारी रहेपछि वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्।
केही बैंकले ब्याजदर स्थिर राखे पनि व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर भदौको तुलनामा घटेको छ।
असोजका लागि वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर ४.०८९५ प्रतिशतमा झरेको छ, जुन भदौमा ४.१३६ प्रतिशत थियो। यस्तै संस्थागत मुद्दति निक्षेपको औसत ब्याजदर पनि भदौको ३.०८१ प्रतिशतबाट घटेर असोजमा ३.०६६५ प्रतिशतमा सीमित भएको छ।
बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार असोजमा व्यक्तिगत मुद्दति निक्षेपतर्फ सबैभन्दा बढी ब्याज प्रभु बैंकले ४.५५ प्रतिशत दिने भएको छ। सानिमा, माछापुच्छ्रे र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
नेपाल बैंक र कृषि विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४.१५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.१० प्रतिशत तथा एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले ४ प्रतिशत ब्याजदर तोकेका छन्।
नबिल बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ४.२५ प्रतिशतमा झारेको छ। भदौमा बैंकले ४.५५ प्रतिशत ब्याज दिएको थियो। एभरेस्ट बैंकले पनि व्यक्तिगत निक्षेपको दर घटाएर ३.५० प्रतिशतमा झारेको छ। भदौमा उक्त दर ४.०५ प्रतिशत थियो।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर ३.७५ प्रतिशत तोकेको छ। भदौमा ३.८ प्रतिशत थियो। कुमारी बैंकले पनि यस्तो ब्याजदर ३.७६ प्रतिशतबाट घटाएर ३.७३ प्रतिशतमा ल्याएको छ।
संस्थागत मुद्दति निक्षेपतर्फ सानिमा बैंकले सबैभन्दा बढी ३.५१ प्रतिशत ब्याजदर तोकेको छ। नेपाल बैंक, सानिमा, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल, नेपाल एसबीआई र स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतले २.७५ देखि ३.५१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्।
निक्षेपको तुलनामा कर्जाको माग बढ्न नसक्दा बैंकहरूमा अधिक तरलता कायम छ। लगानीका क्षेत्र सुस्त हुँदा बैंकहरूबीच निक्षेप संकलनका लागि हुने प्रतिस्पर्धा कमजोर बन्न पुगेको छ, जसका कारण असोजमा ब्याजदर थप ओरालो लागेको हो।
भदौ ३१, २०८३ बुधबार १३:१६:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।