सरुवा भएका कर्मचारीलाई तोकिएको समयमै रमाना नदिए कार्यालय र लेखा प्रमुखबाटै तलब असुल गरिने

सरुवा भएका कर्मचारीलाई तोकिएको समयमै रमाना नदिए कार्यालय र लेखा प्रमुखबाटै तलब असुल गरिने

काठमाडौं : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ।

मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साविककै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नदिई पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो।

मन्त्रालयले आज परिपत्र जारी गर्दै निजामती सेवा नियमावलीअनुसार सरुवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमाना नदिइ साविककै कार्यालयबाट तलबभत्ता भुक्तानी गरिएमा उक्त बढी अवधिको रकम सम्बन्धित कार्यालय प्रमुख र लेखा प्रमुखबाट असुलउपर गरिने जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो समय सरुवा भएका कर्मचारीलाई साविककै निकायमा राखिराख्दा विशेषगरी स्थानीय तहमा जनशक्तिको अभाव भई सेवा प्रवाहमा गम्भीर असर परेको मन्त्रालयको निष्कर्ष छ।

यस्तै, सरुवा भएका कर्मचारीलाई रमाना नदिई तलबभत्ता भुक्तानी गरेको पाइएमा लेखापरीक्षणका क्रममा उक्त विषयलाई बेरुजु कायम गरी निर्णय कार्यान्वयनमा सहयोग गर्न महालेखा परीक्षकको कार्यालयलाई र निर्णय कार्यान्वयनमा सहयोग गर्न मातहतका सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई परिपत्र गरिदिन महालेखा नियन्त्रकको कार्यालयलाई समेत आग्रह गरेको छ।

भदौ ३०, २०८३ मंगलबार १७:५५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।