विकास आयोजनाको सुरक्षाका लागि ऊर्जा मन्त्रालयको ६ बुँदे सुरक्षा योजना : 'एक आयोजना, एक सुरक्षा अधिकारी' देखि अनिवार्य बिमासम्म
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीले जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति र सुरक्षा संकट निम्त्याएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनाहरूको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणका लागि ६ बुँदे नयाँ सुरक्षा अवधारणा कार्यान्वयनमा ल्याउने तयारी गरेको छ।
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठका अनुसार आयोजनास्थलमा हुनसक्ने जोखिम घटाउन र कामदारहरूको सुरक्षा सुनिश्चित गर्न देशभरका आयोजनाहरूको निर्माण, सुरक्षा तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन लागिएको हो।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार ६ बुँदे सुरक्षा अवधारणा तयार गरिएको छ। नयाँ अवधारणा अन्तर्गत अबदेखि हरेक आयोजनाले अनिवार्य रूपमा हल वा संरचनात्मक बिमा गर्नुपर्नेछ। आयोजनास्थलमा सुरक्षा मापदण्डहरूको कडाइका साथ पालना गराउन 'एक आयोजना, एक सुरक्षा अधिकारी' को व्यवस्था गरिनेछ भने आपत्कालीन अवस्थामा मानवीय क्षति जोगाउन नियमित रूपमा उद्धार तालिम सञ्चालन गरिनेछ।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यकाअनुसार ६ बुँदे सुरक्षा अवधारणा तयार गरिएको छ। जसमा अनिवार्य बिमादेखि सुरुङ मार्गको पुनर्संरचनासम्म प्रस्ताव गरिएको छ। सुरक्षा अवधारणामा अनिवार्य हल बिमाको व्यवस्था गरिएको छ ।
आयोजनास्थलमा सुरक्षा मापदण्डहरूको कडाइका साथ पालना गराउन ‘एक आयोजना, एक सुरक्षा अधिकारी’ (वान प्रोजेक्ट, वान सेफ्टी अफिसर) को अवधारणा अघि सारिएको छ ।
कुनै पनि आपत्कालीन वा विपद्को अवस्थामा तुरुन्तै सुरक्षित स्थानमा सर्न तथा मानवीय क्षति जोगाउन आयोजना स्थलमा अब नियमित रूपमा उद्धार तालिम सञ्चालन गरिनेछ ।यसअन्तर्गत सम्भावित संकट, दुर्घटना वा प्राकृतिक प्रकोपको सामना गर्न स्पष्ट आकस्मिक योजना निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ ।
यसै गरी विपद्का वेला पावर हाउसमा न्यूनतम आवश्यकता सूची तयारी अवस्थामा राख्ने प्रस्ताव छ। अब पावर हाउस क्षेत्रमा कम्तीमा ३० दिनसम्म पुग्ने खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरू अनिवार्य रूपमा भण्डारण गर्न ‘न्यूनतम आवश्यकता सूची’ बनाएर लागू गरिनेछ।
यसै गरी सुरुङको पुनर्संरचनालाई जोड दिइएको छ। सुरुङ मार्गहरूको सुरक्षा र स्थायित्वलाई मध्यनजर गर्दै हाल सुरुङको पुनर्संरचना गर्ने विषयमा गम्भीर छलफल र परामर्श तीव्र पारिएको छ।
यी नयाँ मापदण्ड र अवधारणाहरूले आयोजनाको भौतिक सम्पत्ति र श्रमिकहरूको सुरक्षालाई सुदृढ बनाउनुका साथै जुनसुकै विपद् वा आपत्कालीन अवस्थाको सामना गर्न आयोजनाहरूलाई सक्षम बनाउने मन्त्रालयले जनाएको छ।
भदौ ३०, २०८३ मंगलबार १०:२६:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।