आइसियू अन्तर्वातापछि सुरजसिंह प्रेस काउन्सिलको छानबिनमा, स्वास्थ्य मन्त्रालय, सेना र मेडिकल काउन्सिल 'बुझ्दै'
काठमाडौं : भोटेकोशी बाढीका कारण जल विद्युत् गृहको सुरुङमा फसेर दुई घाइतेको उपचाररत अस्पतालको आइसीयुलाई स्टुडियो बनाएर लिइएको अन्तर्वार्ताबारे प्रेस काउन्सिल नेपालसहित सेना र स्वास्थ्य मन्त्रालयले अध्ययन सुरु गरेको छ।
युट्युवर सुरज सिंह ठकुरीले १० दिनपछि उद्धार भएर नेपाली सेनाको अस्पतालमा उपचाररत सञ्जय साह र कबिर महर्जनको आइसीयुमै अन्तर्वार्ता लिएर आइतबार प्रसारण गरेका थिए। उनले कार्यक्रमको प्रोमोदेखि युट्युवको हेडलाइनसम्म 'इन्साइड द आइसीयु' राखेर कार्यक्रम प्रसारण गरेका थिए।
उनको सो काम पत्रकार आचारसंहिता र मेडिकल प्रोटोकल विपरीत थियो। घाइतेको स्वास्थ्यलाई जोखिममा पार्दै करिब २ घण्टा टिमसहित सिंह अस्पतालको आइसीयु कक्ष भित्रै बसेर कार्यक्रम छायाङ्कन गरेको सार्वजनिक भएसँगै ठकुरीको तीब्र आलोचना भइरहेको छ। आफ्नो अस्पतालमा उपचाररत घाइतेको अन्तर्वार्ताको अनुमति दिएर स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै नेपाली सेनामाथि प्रश्न उठिरहेको छ।
यसबारे उकेराले आइतबारै विस्तृत रिपोर्ट प्रकाशन गरेको थियो। अति संवेदनशील क्षेत्रलाई टेलिभिजनको स्टुडियो बनाउँदै सामान्य प्रोटोकल समेत पुरा नगरी छायाङ्कन भएको सार्वजनिक भएसँगै आइतबार बेलुकाबाटै सामाजिक सञ्जालमा यसबारे तीव्र बहस भइरहेको छ।
सोमबार प्रेस काउन्सिल नेपालले विज्ञप्ति निकालेर सो सामग्रीको सम्बन्धमा पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन, अनुगमन गरिरहेको र यस विषयमा अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल र मेडिकल काउन्सिलमा पत्राचार भएको उल्लेख छ। काउन्सिलले योसँगै यस अगाडि बीबीसी नेपाली सेवाले आइसीयुमा रहेका पर्वतारोहीको भिडियोबारे समेत अध्ययन शुरु भएको जानकारी दिएको छ।
काउन्सिलका प्रवक्ता दीपक खनालले उकेरासँग मेडिकल काउन्सिल र नेपाली सेनाको अस्पताललाई पत्र पठाएर आइसीयुमा अन्तर्वार्ता लिन मिल्छ की मिल्दैन भनेर सोधिएको बताए।
“सुरजसिंह भन्ने पत्रकार के कसो हुन्? उनले सदस्यता लिएका छन् की छैनन् भनेर सूचना तथा प्रसारण विभागमा पत्राचार गरेका छौँ,”प्रवक्ता खनालले भने।
नेपाली सेनाको अस्पतालको आइसीयुमा उपचाररत दुई घाइतेको आइसीयुमै अन्तर्वार्ता लिएको विषयमा सोमबार उकेराकर्मीले सेनाका प्रवक्ता राजाराम बस्नेतसँग जानकारी लिँदा उनले सोधपुछको काम भइरहेको बताए। उनले आइतबार यसबारे आफूलाई जानकारी नभएको दाबी गरेका थिए। तर उकेराको सोधखोजमा अस्पतालभित्रै दुवै घाइतेको अन्तर्वार्ताका लागि सैनिक जनसम्पर्क निर्देशनालयले नै ठकुरीलाई लिखित अनुमति दिएको खुलेको थियो।
“यो (अन्तर्वार्ता आएको) विषय मलाई पनि जानकारीमा आएको छ”,सेनाका प्रवक्ता बस्नेतले सोमबार उकेरासँग भने,“यो विषयमा प्रारम्भिक जानकारी लिने र बुझ्ने काम गरिरहेका छौँ। बुझेपछि तपाइहरूलाई पछि जानकारी गराउँछौँ।”
स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल छलफल गर्दै
बाढीका घाइतेको उपचार जुन अस्पतालमा भए पनि त्यसको अनुगमन र हेरचाहको जिम्मा स्वास्थ्य मन्त्रालयले लिएको छ। उपचार खर्च सरकारले व्यहोर्ने निर्णय भइसकेको छ। सुरुङमा १० दिन फसेर भाग्यवश सकुशल उद्धार भएका घाइतेको स्वास्थ्यमा जोखिम हुनेगरि भएको गतिविधिबारे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय के गरिरहेको छ?
मन्त्रालयका सह-प्रवक्ता समीर कुमार अधिकारीले उकेरासँग यो विषयमा छलफल भइरहेको मात्र बताए। मन्त्रालय अन्तर्गतको अस्पतालमा यस्तो भएको भए मन्त्रालयले प्रत्यक्ष रूपमा त्यहाँ गएर छानबिन गर्न सक्ने तर नेपाली सेनाको अस्पतालको घटना भएकाले त्यसको निगरानी (गभर्नेन्स) गर्ने पाटो सेनाकै भएको सह-प्रवक्ता डा. अधिकारीले बताए।
“स्वास्थ्य मन्त्रालयले यस विषयमा छलफल गर्दैछ। कसरी जाने भन्ने विषयमा मन्त्रालयले थप निर्णय लिएर मात्रै केही गर्ने भन्ने हुन्छ ”, सह प्रवक्ता डा. अधिकारीले भने,“यो घटना मन्त्रालय अन्तर्गतको हुन्थ्यो भने मन्त्रालयले टिम बनाएर छानबिन गरिसक्थ्यो।”
व्यावसायिक आचारसंहिता (प्रोफेसनल इथिक्स)को दृष्टिले प्रश्न उठ्दा मन्त्रालयले नेपाल मेडिकल काउन्सिलसँग समन्वय गरेर उसैको सहभागितामा छानबिन र सहजीकरण गर्ने बाटो अगाडि बढाउने डा. अधिकारीले बताए।
यसबारे उकेराले नेपाल मेडिकल काउन्सिलका अधिकारीसँग समेत सोधेको थियो। काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठले सेनाको अस्पतालमा आइसीयुमा उपचार घाइतेको आइसीयुमा अन्तर्वार्ता रेकर्ड गरेर प्रसारण गरेको विषयमा प्रेस काउन्सिले पत्र पठाएको जानकारी दिँदै यो विषयमा ‘इथिकल रिभ्यु कमिटीको बैठक’ बसाएर निर्णय गर्ने जानकारी दिए।
“त्यो भिडियो मैले हेरिसकेको छैन। भर्खरै प्रेस काउन्सिलले पनि पत्र पठाएको रहेछ,”रजिस्ट्रार डा. श्रेष्ठले भने “यो इथिकल हो वा अनइथिकल हो भन्ने विषयमा (काउन्सिलको) इथिकल कमिटीको बैठक बसेर निर्णय गरेपछि प्रक्रिया अगाडि बढाउँछौँ।”
मेडिकल काउन्सिलका सदस्य डा. छवि पन्थीले यो घटना आचार संहिता विपरीतको काम भएकाले छानबिन गरी कार्वाहीको दायरामा ल्याउनु पर्ने र यसबारे आवाज उठाउने बताए।
“सेना वा जो-कोहीको अस्पताल भए पनि आइसीयुमा अन्तर्वार्ता लिन पाइँदैन, यो विषयमा छानबिन गर्नुपर्छ”डा. पन्थीले भने।
“यो चिन्ताको विषय हो”
सघन उपचार कक्ष जीवन रक्षाका (लाइफ सपोर्टका) लागि धेरै विषय चाहिने र त्यहाँ एउटा मात्रै बिरामी नहुने भएकाले संवेदनशील बन्नुपर्ने डा. अधिकारी बताउँछन्।
“बिरामीका आफन्त त कुर्न नदिएर बाहिर निकाल्ने ठाउँ हो आइसीयु”,सह प्रवक्ता अधिकारीले भने,“त्यस्तोमा सङ्क्रमणको जोखिम हुन सक्छ भनेर मापदण्डहरू तय गरिएका हुन्छन्। त्यसको पालना गर्ने, सुरक्षा गर्ने सम्बन्धित अस्पतालले नै हो।”
मन्त्रालयले तोकेको मापदण्ड, मन्त्रालयले दिएको निर्देशन र प्रोफेसनल काउन्सिलहरूले दिएको निर्देशनको आधारमा आइसीयुमा इन्फेक्सन, सङ्क्रमण प्रिभेन्सन गर्ने विषयमा सरकारको मापदण्ड भएको डा. अधिकारीले जानकारी दिए।
आफन्तलाई भेट्न जाँदा त एकछिन गएर निस्किहाल्नुहोस् भनिने सघन उपचार कक्षमा बिरामीलाई सङ्क्रमण हुनसक्नेगरी गएर लामो समय बसेर अन्तर्वार्ता गर्नु चिन्ताको विषय बनेको उनले बताए।
“आफूले लगेको व्यक्तिगत सामान, जुत्ता, मोजा बाहिरै खोल्नुपर्छ। मास्क, सर्जिकल क्याप, शरीरमा गाउन लगाउनुपर्छ”,सह-प्रवक्ता डा. अधिकारीले भने,“तर, अन्तर्वार्ताका लागि सेटिङ गर्नेगरी त्यो सामान भित्र कसरी जान्छ, कसरी लैजाने भन्ने विषयको पाटोचाहिँ प्रशासनिक रूपमा अस्पतालले हेर्ने हो।”
“आइसियु हैन पोस्ट अपरेसन वार्ड”
प्रेस काउन्सिल नेपालले अध्ययन सुरु गर्दै पत्राचार गरेसँगै इन्साइड दि बङ्करले कार्यक्रम प्रसारण गरेको २४ घण्टापछि फेसबुकदेखि युट्युबसम्ममा राखेको शीर्षक र मुख्य तस्बिर बदलेको छ। उसले यस अगाडि 'इनसाइड दि आइसीयु' शीर्षक राखेर प्रोमोको प्रचार गरेको थियो।
युट्युबमा कभर फोटोमा अस्पतालको बेडमा रहेका दुई घाइतेसँगै कार्यक्रम सञ्चालक ठकुरी र दुई घाइतेसँगै एक सैनिक मास्क नलगाई बसेको देखिन्छ। त्यसमा टनेलभित्र बाँचेको कथा आइसीयुबाट लेखिएको थियो। तल शीर्षकमा इनसाइड द आइसीयू नै राखिएको थियो।
यसरी भिडियो खिच्नु स्वास्थ्य प्रोटोकल बिपरित रहेको खुलेपछि टिमले सोमबार बेलुका शीर्षक बदलेर 'इनसाइड द आइसीयू'को ठाउँमा 'इनसाइड द टनेल' बनाइएको छ। मुख्य तस्विरमा समेत आइसीयु शब्द हटाएर पोस्ट अपरेसन वार्ड बनाइएको छ।
उकेरा आइसीयु र पोस्ट अपरेसन वार्डको संवेदनशीलताबारे केही जानकार चिकित्सकसँग बुझेको थियो। यसमा संवेदनशीलताका आधार आइसीयु र पोस्ट अपरेसन वार्ड उस्तै रहेको खुल्यो। अप्रेसन गरेको हकमा पहिला पोस्ट अपरेसन वार्डमा राखेर घाइतेको अवस्था हेरेर आइसीयु वा नर्मल वार्ड कता पठाउने भन्ने निर्णय हुने खुल्यो।
मेडिकल प्रोटोकल अनुसार यी दुवै स्थान अति संवेदनशील हुने भएकाले यसमा घाइते वा बिरामीको आफन्तलाई समेत समिति समय मात्र प्रवेश अनुमति दिइने एक जानकार चिकित्सकले बताए।
“पोस्ट अपरेसन वार्ड पनि संवेदनशील क्षेत्र हो। प्रोटोकलले त्यहाँ रहेका बिरामीसँग बाहिरका व्यक्ति टिमै लिएर २ घण्टा बसेर अन्तर्वार्ता लिनु असम्भव हो। तर नेपालमा पहुँच भएपछि जे पनि सम्भव हुन्छ। यो घटना यस्तै हो” जानकार चिकित्सकले भने।
उकेराको सोधखोजमा नेपाली सेनाको अस्पतालमा छायाङ्कन भएको स्थान पोस्ट अपरेसन वार्ड रहेको देखिएन। दुवै त्यो समयमा आइसीयु भित्रको पनि अति संवेदनशील क्षेत्र मानिने आइसोलेसन कक्षमा रहेको देखियो। दुवै घाइते सोही कक्षमा रहेको र त्यहीँ कोठामा छायाङ्कन भएको अस्पताल स्रोतले पूष्टी गर्यो।
जानकारका अनुसार आइसीयु भित्रको आइसोलेसन कक्ष चिकित्सा क्षेत्रको सबैभन्दा बढी संवेदनशील र उच्च सतर्कता अपनाइने कक्ष हो। सामान्य आइसीयु बिरामीहरू नै गम्भीर अवस्थामा हुने भएकाले उनीहरूलाई सङ्क्रमणको उच्च जोखिम हुन्छ।
त्यसमाथि आइसीयुकै आइसोलेसन कक्षमा राखिने बिरामीहरू अत्यन्तै सङ्क्रामक वा रोग प्रतिरोधात्मक क्षमता न्यून भएका हुन्छन्। उनीहरूलाई सङ्क्रमणबाट जोगाउन यस्तो कक्षमा विशेष निगरानीका साथ राखिन्छ।
सम्बन्धित समाचार
भदौ २९, २०८३ सोमबार २१:४४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।