देशभर हरितालिका तीजको रौनक : पशुपतिनाथसहित शिवालयमा बिहानैदेखि व्रतालुको भीड

देशभर हरितालिका तीजको रौनक : पशुपतिनाथसहित शिवालयमा बिहानैदेखि व्रतालुको भीड

काठमाडौं : सनातन हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज आज देवाधिदेव महादेवको पूजा-आराधना गरी देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै छ।

यस अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा बिहानैदेखि महिला व्रतालु भक्तजनको बाक्लो लाम लागेको छ।

भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विवाहित महिलाले पतिको दीर्घायु र पारिवारिक सुख-शान्तिको कामना गर्दै तथा अविवाहित युवतीले सुयोग्य वर प्राप्तिको अभिलाषासहित निराहार व्रत बस्ने धार्मिक परम्परा छ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाउन गरेको कठोर तपस्या र निष्ठाको स्मरण गर्दै तीज पर्व मनाउने शास्त्रीय मान्यता रहेको छ।

पशुपतिमा सहज दर्शनको व्यवस्था, चारै ढोका खुला
तीजका व्रतालुको सहजतालाई ध्यानमा राखी पशुपति क्षेत्र विकास कोषले आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै वटा ढोका खुला गरेको छ।

झरीका बाबजुद पनि बिहानैदेखि हजारौँ महिला भक्तजन छाता ओढेर लामबद्ध भएका छन्। बिहानको समयमा लाममा बसेको करिब आधा घण्टामै सहज रूपमा दर्शन गरेर फर्किन सक्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ।

कोषका सदस्य-सचिव तीर्थ श्रेष्ठका अनुसार मन्दिर प्रवेशका लागि चार वटा छुट्टाछुट्टै दर्शन मार्ग तय गरिएको छ।

चार हजार सुरक्षाकर्मी र स्वयंसेवक परिचालन
भक्तजनको सुरक्षा र भीड व्यवस्थापनका लागि पशुपति क्षेत्रमा करिब चार हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ।

साथै, विभिन्न २४ वटा धार्मिक तथा सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक परिचालन गरिएको छ। दर्शनार्थीको सुविधाका लागि सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालाबाट चन्दन वितरणको व्यवस्था मिलाइएको छ।

पशुपतिनाथका अतिरिक्त राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित मक्खन महादेव (सानो पशुपतिनाथ), डोलेश्वर, त्रिपुरेश्वर लगायत देशभरका प्रमुख शिवालयहरूमा पनि बिहानैदेखि पूजाआजा गर्ने महिला भक्तजनको ठूलो घुइँचो लागेको छ।

मन्दिर परिसरहरूमा रातो सारी, चुरा र पोतेमा सजिएका महिलाहरूको उपस्थिति तथा तीजका मौलिक गीत-संगीतले वातावरण उल्लासमय बनेको छ।

भदौ २९, २०८३ सोमबार ०८:१६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।