नेपाल-भारत विद्युत् व्यापारका लागि १८ किमि प्रसारण लाइन तयार

नेपाल-भारत विद्युत् व्यापारका लागि १८ किमि प्रसारण लाइन तयार

काठमाडौं : नेपाल-भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको ४०० केभी प्रसारण लाइनको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भएको छ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल) ले उक्त प्रसारण लाइन खण्ड निर्माण सम्पन्न गरेको हो।

न्यू बुटवल सबस्टेसनमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसिए-नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले प्रसारण लाइन निर्माण सम्पन्न हुनु नेपालको विद्युत् पूर्वाधार र सीमापार ऊर्जा सञ्जाल विस्तारका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।

नेपालतर्फको १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भए पनि यसबाट तत्काल विद्युत् प्रवाह भने सुरु हुने छैन। प्रसारण लाइन सञ्चालनमा ल्याउन नेपाल–भारत सीमापार विद्युत् प्रवाहका लागि आवश्यक स्वीकृति तथा अन्य प्राविधिक काम पूरा गर्न बाँकी छ।

३१५ किमि प्रसारण लाइन र तीन सबस्टेसन

न्यू बुटवल–भारत सीमासम्मको १८ किलोमिटर खण्ड एमसिए–नेपालको विद्युत् प्रसारण आयोजनाको एउटा हिस्सा हो। एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत कुल ३१५ किलोमिटर लामो उच्च भोल्टेज प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माण गर्ने योजना छ।

आयोजनाले नेपालमा विद्युत्को उपलब्धता तथा विश्वसनीयता सुधार गर्नुका साथै ऊर्जा सुरक्षा बलियो बनाउने, भविष्यमा उत्पादन हुने विद्युत् प्रसारण गर्ने क्षमता विस्तार गर्ने र सीमापार विद्युत् व्यापारका लागि आवश्यक पूर्वाधार विकास गर्ने लक्ष्य राखेको छ।

आयोजनाअन्तर्गत विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराइँदै आएको छ। नेपालमा जलविद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएसँगै उत्पादन भएको विद्युत् आन्तरिक बजारसम्म पुर्याउन र भारत तथा अन्य क्षेत्रीय बजारमा निर्यात गर्न प्रसारण पूर्वाधारको आवश्यकता बढ्दै गएको छ।

यस्तो अवस्थामा न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको प्रसारण लाइन निर्माण सम्पन्न हुनुलाई सीमापार विद्युत् व्यापारका लागि पूर्वाधार विस्तारको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ। अब बाँकी स्वीकृति र प्राविधिक प्रक्रिया पूरा गरी प्रसारण लाइन सञ्चालनमा आएपछि नेपाल–भारतबीच विद्युत् आदानप्रदान तथा व्यापारका लागि थप पूर्वाधार उपलब्ध हुनेछ।

भदौ २८, २०८३ आइतबार १५:१७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।