मध्यपूर्वको युद्धले ‘साझा हित’ पूरा गर्दैन : चिनियाँ राष्ट्रपति सी जिनपिङ

मध्यपूर्वको युद्धले ‘साझा हित’ पूरा गर्दैन : चिनियाँ राष्ट्रपति सी जिनपिङ

एजेन्सी : चिनियाँ राष्ट्रपति सी जिनपिङले मध्यपूर्वमा जारी युद्धले कुनै पनि पक्षको ‘साझा हित’ पूरा नगर्ने बताएका छन्। भारतको नयाँदिल्लीमा शनिबार आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनका क्रममा सीले यस्तो धारणा राखेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै रोयटर्स र एएफपीले जनाएका छन्।

इरान-अमेरिका तनाव र रुस-युक्रेन युद्धका कारण उत्पन्न विश्वव्यापी भूराजनीतिक जटिलताका बिच राष्ट्रपति सी शनिबार सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आइपुगेका हुन्। 

सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सीले अन्य देशको सार्वभौमसत्ताको उल्लङ्घन र आन्तरिक मामिलामा हुने हस्तक्षेपको विरोध गर्न ब्रिक्स राष्ट्रहरूसँग आह्वान गरे। साथै, उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का क्षेत्रमा सहकार्य थप मजबुत बनाउन आह्वान गरेका छन्। उनले कुनै पनि देशको सार्वभौमसत्तामाथि हुने उल्लंघन तथा अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेपको विरोध गर्न पनि ब्रिक्स सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन्।

चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ निङका अनुसार सम्मेलनका क्रममा राष्ट्रपति सीले प्रमुख अन्तर्राष्ट्रिय मुद्दाहरू र ब्रिक्स सदस्य राष्ट्रहरूबिचको सहकार्यलाई अझ मजबुत बनाउने विषयमा छलफल हुनेछ।

नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा मुख्यतया व्यापार, लगानी, विश्वव्यापी द्वन्द्व व्यवस्थापनमा र विकासशील मुलुकको विश्व राजनीतिमा बढ्दो भूमिकाबारे छलफल भइरहेको छ।

आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ, इरानी राष्ट्रपति मसुद पेजेस्कियानलगायत अन्य सदस्य राष्ट्रका प्रमुखहरूलाई स्वागत गरेका छन्।

उदीयमान र विकासोन्मुख राष्ट्रहरूको प्रतिनिधित्व गर्ने ब्रिक्स मञ्चले विश्व राजनीतिमा आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेका बेला, मध्यपूर्व र युक्रेनमा जारी युद्धका बिच सदस्य राष्ट्रहरूबिच साझा सहमति जुटाउने चुनौती रहेको छ।

भदौ २७, २०८३ शनिबार १७:५२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।