सुर्खेतमा पेस्तोलसहित दुई जना पक्राउ, पाँच राउन्ड गोली पनि बरामद

सुर्खेतमा पेस्तोलसहित दुई जना पक्राउ, पाँच राउन्ड गोली पनि बरामद

काठमाडौं : जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्वचालित पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा दैलेख जिल्ला आठबिस नगरपालिका वडा नं. ६ बस्ने ३० वर्षीय भिम बहादुर शाही र आठबिसकोट –५ का २७ वर्षीय भुपेन्द्र शाही रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान तथा सोधपुछका क्रममा आरोपी भुपेन्द्र शाहीले दिएको बयानका आधारमा उक्त हतियार बरामद गरिएको हो। शाहीले दैलेखको आठबिस नगरपालिका–४ स्थित राकम खोलीबजार नजिकैको खोल्सामा स्वचालित हतियार लुकाई छिपाई राखेको बयान दिएका थिए।

उक्त बयानपश्चात् प्रहरी सहायक निरीक्षक कृष्ण चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय दैलेखसँग समन्वय गरी खोजतलास गरेको थियो। खोजतलासका क्रममा खोलीबजार नजिकैको खोल्साको झाडीमा कालो प्लास्टिकभित्र लुकाएर राखिएको अवस्थामा हतियार बरामद भएको प्रहरीले जनाएको छ।

साथै एक थान म्यागजिन र पेस्तोलमा प्रयोग हुने गोली ५ राउन्ड बरामद भएको डिएसपी बोहरालले बताए।

पक्राउ परेकाहरुमाथि  थप अनुसन्धान भइ रहेको पनि प्रहरीले जनाएको छ।

भदौ २७, २०८३ शनिबार १५:४४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।