एप्पलले ल्यायो पहिलो फोल्डिङ आइफोन, मूल्य अहिलेसम्मकै उच्च!
एजेन्सी : प्रविधि कम्पनी एप्पलले आफ्नो इतिहासमै पहिलो पटक फोल्डिङ आइफोन सार्वजनिक गरेको छ।
कम्पनीका तत्कालीन प्रमुख टिम कुकले पद छोडेपछि नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) बनेका जोन टर्नसले बुधबार आयोजित विशेष कार्यक्रममा ‘आइफोन डुओ’ सार्वजनिक गरेका हुन्।
लगभग २० वर्षअघि सन् २००७ मा पहिलो आइफोन आएयता यसको डिजाइनमा गरिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो फेरबदल हो।
यो फोन किताबजस्तै गरी बीचबाट खुल्छ र पट्याउन मिल्छ भने यसलाई खोल्दा सानो ‘आईप्याड’ जत्रो ठूलो स्क्रिन बन्छ भने पट्याएर राख्दा सामान्य आइफोनजस्तै खल्तीमा अट्ने हुन्छ।
बजारमा रहेका सामसुङलगायत अन्य कम्पनीका फोल्डिङ फोनहरू दुईवटा फोन टाँसेजस्तो भद्दा देखिने भए पनि एप्पलले यसलाई निकै पातलो र चलाउन सजिलो बनाएको दाबी गरेको छ।
यो एप्पलले बनाएको अहिलेसम्मकै सबैभन्दा ठूलो र सबैभन्दा महँगो आइफोन पनि हो। यसको सुरुवाती मूल्य १ हजार ९ सय ९९ अमेरिकी डलर तोकिएको छ। यसको उच्च मोडलको मूल्य भने ३ हजार २ सय डलरसम्म पर्नेछ।
‘आइफोन १८’ र नयाँ ‘सिरी एआई’ पनि सार्वजनिक
एप्पलले सोही कार्यक्रममा नयाँ ‘आइफोन १८ प्रो’ र ‘१८ प्रो म्याक्स’ पनि सार्वजनिक गरेको छ। जसको मूल्य क्रमशः १ हजार १ हजार ९९ र १ हजार २ सय ९९ डलरबाट सुरु हुनेछ।
यसका साथै एप्पलले फोनमा भ्वाइस असिस्टेन्ट ‘सिरी’ लाई निकै शक्तिशाली बनाउँदै ‘सिरी एआई’ घोषणा गरेको छ।
अब सिरीले फोनभित्रका म्यासेज र इमेलहरू हेरेर प्रयोगकर्ताले भनेअनुसारका कामहरू आफैँ गरिदिनेछ। यद्यपि, प्रयोगकर्ताको गोपनीयता पूर्ण सुरक्षित रहने र प्रयोगकर्ताको निजी डेटा एप्पल स्वयंले पनि हेर्न नसक्ने कम्पनीको दाबी छ।
विश्व बजारमा हाल सामसुङ र हुवावे जस्ता कम्पनीका फोल्डिङ फोनहरू उपलब्ध भए पनि कुल स्मार्टफोन बजारमा यस्ता फोनको हिस्सा २ प्रतिशत मात्रै छ।
चर्को मूल्य र पट्याउने फोन चलाउने बानी नभएका कारण नयाँ फोल्डिङ आइफोन धेरै बिक्री होला कि नहोला भन्नेमा प्रविधि विश्लेषकहरूले संशय व्यक्त गरेका छन्।
भदौ २५, २०८३ बिहीबार ११:१६:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।