आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन मनाइँदै
काठमाडौं : वैदिक सनातन धर्मावलम्बीहरूले आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर ‘कुशे औँसी’ पर्व मनाउँदै छन्। यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने तर अन्य दिन उखेलिएको कुश सोही दिन मात्र उपयोग गर्न मिल्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए।
सनातन धर्ममा कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिन्छ। सृष्टिकर्ता ब्रह्माजीले प्राणीहरूसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ।
बुबाको मुख हेर्ने दिन (पितृ सम्मान)
यसै अवसरमा आज छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई मन पर्ने मिष्ठान्न तथा भोजन खुवाएर आदर–सम्मान प्रकट गर्दै ‘बाबुको मुख हेर्ने’ गर्दछन्। ‘पितृदेवो भव’ भन्ने शास्त्रीय मान्यताअनुरूप यस दिन बाबुलाई श्रद्धापूर्वक सेवा गरी आशीर्वाद लिने गरिन्छ।
पिता दिवङ्गत भइसकेकाहरूले भने विभिन्न तीर्थस्थलमा गई बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने गर्छन्। यसो गर्नाले पुण्य मिल्नुका साथै कुल स्थिर हुने धार्मिक विश्वास छ।
तीर्थस्थलहरूमा भक्तजनको भीड
आज विशेषगरी ‘उत्तरगया’ भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा श्राद्ध तथा तर्पण गर्नेहरूको ठूलो घुइँचो लाग्ने गर्छ। यसैकारण यस दिनलाई ‘गोकर्णे औँसी’ पनि भनिन्छ।
मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जयराम महतले जानकारी दिए।
यसैगरी, रसुवा र नुवाकोटको सङ्गमस्थल बेत्रावतीमा पनि दिवङ्गत पिताको सम्झनामा तर्पण तथा पिण्डदान गर्न भक्तजनहरू पुग्ने गर्दछन्। आजको दिन गरिने सानो दानले पनि हजारौँ गुणा बढी फल प्राप्त हुने धार्मिक विश्वास छ।
भदौ २६, २०८३ शुक्रबार ०७:१४:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।