बाढीपीडितको राहतका लागि वर्ल्डलिंक र एमभी दुगड़ ग्रुपको सहयोग

बाढीपीडितको राहतका लागि वर्ल्डलिंक र एमभी दुगड़ ग्रुपको सहयोग

काठमाडौं : नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोले पुर्याएको ठूलो जनधनको क्षतिमा निजी क्षेत्रका तर्फबाट राहत र पुनर्स्थापनाका लागि वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड र एमभी दुगड़ ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले अर्थमन्त्रीलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गरे। 

प्राकृतिक विपद्का कारण कम्पनीको आफ्नै नेटवर्क र पूर्वाधारमा करिब ३.५ करोड रुपैयाँ बराबरको प्रत्यक्ष क्षति पुगेको भए पनि, कम्पनीले व्यवसायभन्दा मानवतालाई प्राथमिकता दिँदै बाढी आएको तीन दिनभित्रै प्रभावित क्षेत्रमा इन्टरनेट सेवा पुनः सञ्चालनमा ल्याएको वर्ल्डलिंकले बताएको छ।

आपत्कालीन अवस्थामा सञ्चार सेवा अवरुद्ध हुन नदिन प्राविधिक टोली निरन्तर खटिएको र यो सहयोग व्यावसायिक लाभभन्दा पनि राष्ट्रिय उत्तरदायित्व र मानवीय भावनाबाट प्रेरित रहेको कम्पनीले जनाएको छ।

उता सोमबारै रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावितहरूको राहतका लागि एमभी. दुगड़ ग्रुप र त्यसको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वैच्छिक सहयोगसहित १ करोड ११ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। 

उक्त रकमको चेक ग्रुपका अध्यक्ष मोतीलाल दुगड़, उपाध्यक्ष विवेक दुगड़ र सञ्चालक शुभम् दुगड़ले माननीय अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेका हुन्।

भदौ २२, २०८३ सोमबार २१:४९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।