भारतको गोहाटीका ट्याक्सी चालकद्वारा श्रीमतीको हत्या, टाउको र औँलाहरू फ्रिजमा लुकाएको अवस्थामा पक्राउ

भारतको गोहाटीका ट्याक्सी चालकद्वारा श्रीमतीको हत्या, टाउको र औँलाहरू फ्रिजमा लुकाएको अवस्थामा पक्राउ

एजेन्सी : भारतको आसामस्थित गोहाटीमा एक २८ वर्षीय ट्याक्सी चालक श्रीमतीको हत्या गरी टाउको र औँलाहरू फ्रिजभित्र लुकाएको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेको छ।

गोहाटीको बेलटोलास्थित भाडाको घरमा रहेको फ्रिजभित्र कालो प्लास्टिकको झोलामा राखिएको अवस्थामा प्रहरीले मृतकको काटिएको टाउको र केही औँलाहरू फेला पारेको हो।

श्रीमती रिया तालुकदारको हत्या गरेर फरार भएका रामानुजन गोस्वामीलाले पछि हातीगाउँ प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका थिए। 

प्रहरीका अनुसार घटना गोहाटीको बशिष्ठापुर क्षेत्रमा उनीहरू बस्दै आएको भाडाको कोठामा भएको हो। आइतबार राति बन्द घरबाट दुर्गन्ध आउन थालेपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए।

सूचनापछि प्रहरीले घरमा खोजतलास गर्दा फ्रिजभित्र कालो पोलिथिनको झोलामा राखिएको रियाको टाउको फेला पारेको थियो। त्यससँगै रियाका केही औँलासमेत काटिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। 

गोहाटी प्रहरीको फरेंसिक टोलीले घटनास्थलबाट आवश्यक प्रमाणहरू सङ्कलन गरेको छ। प्रारम्भिक अनुसन्धान र प्रमाणका आधारमा टाउको फेला पर्नुभन्दा कम्तीमा २४ घण्टाअघि नै रियाको हत्या भइसकेको प्रहरीले जनाएको छ।

छिमेकीहरूका अनुसार शनिबार राति दम्पतीबिच झगडा भएको थियो र उनीहरूको घरबाट चिच्याएको आवाजसमेत सुनिएको थियो। त्यसपछि रामानुजन कोठाको बाहिरबाट ताला लगाएर एक्लै हिँडेका थिए।

हातीगाउँ प्रहरी कार्यालयका अधिकारीहरूले भने, "स्थानीयहरूका अनुसार श्रीमान् एक्लै घरबाहिर निस्किएका थिए र बाहिरबाट ताला लगाएका थिए, जुन शङ्कास्पद थियो। पछि घरबाट दुर्गन्ध आएको खबर पाएपछि हामीले अनुसन्धान सुरु गरेका हौँ।"

प्रहरीले गोस्वामीविरुद्ध भारतीय न्याय संहिताको धारा १०३ (१) (हत्या) लगायत विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गरेको छ। हाल उनलाई प्रहरी हिरासतमा राखेर सोधपुछ भइरहेको प्रहरी उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

प्रहरीका अनुसार रिया फेन्सी बजारको 'एसी मार्केट' क्षेत्रमा रहेको एक बुटिकमा काम गर्थिन्। उनका आमाबुवा दुवैको निधन भइसकेको छ भने उनका भाइ गोहाटीको नुनमाटीमा बस्दै आएका छन्।

रियाका परिवारका अनुसार गोस्वामीसँग विवाह हुनुअघि उनीहरू केही वर्षदेखि प्रेम सम्बन्धमा थिए। उनीहरूले गत वर्ष विवाह गरेका थिए।

परिवारले दिएको जानकारीअनुसार गोस्वामीको व्यवहार हिंसात्मक थियो र घरेलु हिंसाको इतिहासका कारण यसै वर्षको सुरुमा उनले करिब तीन महिना पुनःस्थापना केन्द्र (रिह्याब सेंटर) बसेका थिए।

प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण सङ्कलन गरिसकेको र गोस्वामीको व्यवहारसम्बन्धी विगतका विवरणसमेत अध्ययन गरिरहेको जनाएको छ।

रियाको शवलाई पोष्टमार्टमका लागि गोहाटी मेडिकल कलेज र अस्पताल (जीएमसीएच) पठाइएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको वास्तविक समय र कारण खुल्ने प्रहरीले बताएको छ।

भदौ २२, २०८३ सोमबार १८:३३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।