बेलकोटगढी नगरपालिकाको बाढी राहत : घर भत्किएका र मृतकका परिवारलाई २५ हजार, किसानलाई १० हजार
नुवाकोट : भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई नुवाकोटको बेलकोटगढी नगरपालिकाले तत्काल नगद राहत उपलब्ध गराउने निर्णय गरेको छ।
नगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै बाढीका कारण घर पूर्ण रूपमा क्षति भई बस्न अयोग्य भएका, परिवारका सदस्य गुमाएका तथा बेपत्ता भएका नगरवासी परिवारलाई तत्काल राहतस्वरूप प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
यसैगरी, बाढीका कारण खेतीयोग्य जमिन बगेर वा बालुवा-माटोले पुरिएर क्षति व्यहोरेका पीडित किसान परिवारलाई तत्काल राहतस्वरूप प्रतिपरिवार १० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिने भएको छ।
बाढीबाट घर भत्किएर पूर्ण रूपमा क्षति भएका तर नयाँ घर बनाउन अन्य कुनै पनि ठाउँमा जग्गा–जमिन नभएका अति विपन्न तथा विस्थापित परिवारहरूको पहिचान गरी पुनःस्थापना तथा पुनर्वासको प्रक्रिया अगाडि बढाउन सार्वजनिक सूचना आह्वान गरिने भएको छ।
बाढीपीडित परिवारको यकिन विवरण तत्काल प्राप्त गर्न सम्बन्धित वडाका वडाध्यक्ष र वडा सचिवले अनिवार्य रूपमा प्रमाणित गरी तीन (३) दिनभित्र नगरपालिकामा तथ्याङ्क उपलब्ध गराउनुपर्नेछ।
विद्यालयहरूको पठनपाठन सुचारु गर्नका लागि हाल सञ्चालित अस्थायी आवास केन्द्र (होल्डिङ सेन्टर) स्थानान्तरण गर्ने निर्णय गरिएको छ। जसअनुसार वडा नं. ७ स्थित श्री शिलादेवी माध्यमिक विद्यालयमा रहेको केन्द्रलाई रातमाटे चर्चमा र श्री महादेव माध्यमिक विद्यालयको केन्द्रलाई सोही विद्यालयको छात्रावास भवनमा सारिने भएको छ।
नगरप्रमुख जगतबहादुर गुरुङ, उपप्रमुख शिवप्रसाद दाहाल र प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेद्वारा हस्ताक्षरित सूचनामा बाढी प्रभावितहरूलाई आवश्यक पर्ने राहत सामग्री र अस्थायी आवासको व्यवस्था नगरपालिकाले निरन्तर गरिरहेको र यी निर्णयहरू आगामी कार्यपालिका बैठकबाट अनुमोदन गरिने उल्लेख छ।
भदौ २२, २०८३ सोमबार १४:०२:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।