नबिल बैंकले १५.८० प्रतिशत लाभांश दिने
काठमाडौं : नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
आइतबार बसेको बैंक सञ्चालक समितिको ७१२औँ बैठकले साधारण सेयरधनीलाई पाँच प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकका अनुसार प्रस्तावित बोनस सेयरका लागि एक अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा र नगद लाभांशका लागि दुई अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा छुट्याइएको छ। उक्त रकममा बोनस तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश छ।
त्यसैगरी, बैंकले आठ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरतर्फ चुक्ता पुँजीको आठ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ। यसअन्तर्गत २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गरिनेछ। उक्त लाभांश आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँटको मितिबाट समानुपातिक रूपमा २१३ दिनका लागि गणना गरिएको बैंकले जनाएको छ।
बैंकको अग्राधिकार सेयरतर्फको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ छ भने साधारण सेयरतर्फको चुक्ता पुँजी २७ अर्ब पाँच करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ २६ पैसा रहेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ मा हासिल गरेको वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिको आधारमा सेयरधनीलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले लाभांश प्रस्ताव गरिएको जनाएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ। नबिल बैंकले हाल देशभरका २६३ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।
भदौ २२, २०८३ सोमबार १३:१६:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।