दिल्लीमा ५ तले भवन भत्किँदा ६ जनाको मृत्यु, मुख्यमन्त्रीद्वारा अनुगमन र छानबिन गर्न निर्देशन
एजेन्सी : भारतको राजधानी नयाँदिल्लीस्थित सत्य निकेतनमा करिब ५० वर्ष पुरानो पाँच तले भवन भवन भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
दिल्ली विश्वविद्यालयको साउथ क्याम्पस र श्री वेङ्कटेश्वर कलेज नजिकै रहेको उक्त भवन विद्यार्थीहरूका लागि 'पेइङ गेस्ट' को रूपमा प्रयोग हुँदै आएको थियो।
प्रत्यक्षदर्शी र सीसीटिभी फुटेजका अनुसार आइतबार अपराह्न १:१५ बजे भवन अचानक जगैदेखि भत्किएको थियो। दुर्घटना लगत्तै राष्ट्रिय विपद् प्रतिक्रिया बल, दिल्ली पुलिस, दमकल र विपद् व्यवस्थापनको टोली उद्धारमा खटिएका छन्।
भवनको बेसमेन्टमा भइरहेको मर्मतसम्भारका क्रममा संरचनाको एउटा पिलर अस्थिर बनेपछि भवन भत्किएको प्रारम्भिक अनुमान गरिएको छ।
दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले सोमबार घटनास्थलको निरीक्षण गर्दै प्रारम्भिक अनुसन्धानमा बेसमेन्टमा जमेको पानी र पुरानो भवनमा भइरहेको मर्मत कार्यका कारण दुर्घटना भएको देखिएको बताइन्।
उनका अनुसार भवनको करिब ८० प्रतिशत भग्नावशेष हटाइसकिएको छ भने बेसमेन्टतर्फको भग्नावशेष हटाउने काम बाँकी छ। उद्धारका क्रममा हालसम्म १३ जनालाई भग्नावशेषबाट निकालिएको छ। तीमध्ये पाँच जनालाई मृत अवस्थामा एआईआईएमएस ट्रमा सेन्टर पुर्याइएको थियो भने एक घाइतेको उपचारका क्रममा मृत्यु भएको हो।
बाँकी ६ जनाको अवस्था स्थिर रहेको र उपचार भइरहेको बताइएको छ। प्रशासनका अनुसार भवनमा १३ जना विद्यार्थी र ७ जना मजदुर दर्ता थिए। अझै पनि एक जना मजदुर भग्नावशेषमा पुरिएको हुनसक्ने आशङ्कामा खोजी कार्य जारी छ।
घाइतेहरूको एआईआईएमएस र ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
दुर्घटनापछि मुख्यमन्त्री गुप्ताले भवनधनीविरुद्ध एफआईआर दर्ता गर्न निर्देशन दिएकी छन्। साथै, आफ्नो जिम्मेवारी पूरा नगरेका वा लापरबाही गरेको पाइएमा महानगरपालिकाका सम्बन्धित अधिकारीमाथि समेत कारबाही गरिने बताएकी छन्।
‘लापरबाही वा निगरानीमा कमजोरी गरेको पाइएमा सम्बन्धित अधिकारीमाथि कडा कारबाही गरिनेछ,’ उनले भनिन्।
गुप्ताले जोखिमयुक्त भवनहरूको संरचनात्मक परीक्षण (स्ट्रक्चरल अडिट) गर्नसमेत निर्देशन दिएकी छन्।
यसै गरी, मुख्यमन्त्रीले दिल्लीमा चार तलाभन्दा माथि (पाँचौँ तला वा सोभन्दा बढी) बनाइएका अवैध संरचनाहरूलाई तत्काल सील गर्न निर्देशन दिएकी छन्। साथै, पुराना भवनहरूमा पिजी, नर्सिङ होम, वा विद्यालय सञ्चालन गर्नुअघि अनिवार्य रूपमा 'स्ट्रक्चरल अडिट रिपोर्ट' (भवनको सुरक्षा प्रमाण) पेस गर्नुपर्ने नयाँ नीति ल्याइने घोषणा गरिएको छ। दुर्घटनाग्रस्त भवनको छेउमा रहेको जोखिमपूर्ण भवनलाई पनि खाली गराई ढलाउने तयारी गरिएको छ।
भवन भत्किएपछि प्रभावित क्षेत्रबाट निकालिएका विद्यार्थीलाई अस्थायी आवासको व्यवस्था गरिएको र उनीहरूको दैनिक आवश्यकताको सरकारले व्यवस्था गरिरहेको पनि गुप्ताले जानकारी दिइन्।
दिल्लीका मन्त्री मनजिन्दर सिंह सिरसालेका अनुसार दुर्घटनाग्रस्त भवनसँगै रहेको अर्को ४०-५० वर्ष पुरानो भवन पनि जोखिमपूर्ण अवस्थामा रहेकाले खाली गराइएको जानकारी दिएका छन्। उक्त भवनलाई पनि पूर्ण रूपमा भत्काइने तयारी गरिएको छ।
सम्भावित रूपमा भग्नावशेषमुनि फसेका मानिसको खोजी गर्न एनडीआरएफले तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको छ। उद्धारकर्मीले भग्नावशेषका विभिन्न भागमा खोजी जारी राखेका छन्।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन मजिस्ट्रेटस्तरीय छानबिन गर्न निर्देशन दिएको छ।
घटनापछि विद्यार्थी संगठनहरूले समेत प्रशासनको तयारी र उद्धार प्रक्रियामाथि प्रश्न उठाएका छन्।
भदौ २२, २०८३ सोमबार १३:१०:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।