स्वरोजगार र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी ७८ करोड पुग्यो
काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी आइतबारदेखि एकीकृत वित्तीय कारोबार सुरु गरेको छ।
दुवै संस्थाको संयुक्त कारोबार ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट सञ्चालन हुनेछ।
राजधानीमा आयोजित एक कार्यक्रमका बीच स्वरोजगार लघुवित्तका अध्यक्ष ज्ञानेन्द्रप्रसाद पाण्डे र विन नेपाल लघुवित्तका कार्यवाहक अध्यक्ष कुमारराज जोशीले संयुक्त रूपमा एकीकृत कारोबारको शुभारम्भ गरे।
प्राप्तिपछि संस्थाको चुक्ता पुँजी करिब ७७ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने कुल कर्जा लगानी करिब ११ अर्ब ७१ करोड रुपैयाँ र कुल बचत करिब ५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।
योसँगै देशभर लघुवित्तको ११२ वटा शाखा, १ लाख ३२ हजारभन्दा बढी सक्रिय सदस्य र ६१९ जना कर्मचारी हुनेछन्।
दुई संस्थाको एकीकरणले पुँजीगत आधार र वित्तीय क्षमता थप बलियो बनेको तथा यसबाट ग्रामीण एवं विपन्न वर्गका ग्राहकलाई अझ प्रभावकारी, गुणस्तरीय र सहज सेवा प्रवाह गर्न मद्दत पुग्ने संस्थाले जनाएको छ।
भदौ २२, २०८३ सोमबार ११:२४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।