मुक्तिनाथ क्यापिटलले १ अर्बको म्युचुअल फण्ड निष्कासन गर्दै, असोज १ गतेदेखि आवेदन खुल्ने

मुक्तिनाथ क्यापिटलले १ अर्बको म्युचुअल फण्ड निष्कासन गर्दै, असोज १ गतेदेखि आवेदन खुल्ने

काठमाडौं : मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो दोस्रो म्युचुअल फण्ड ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ निष्कासन गर्ने भएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।

कुल निष्कासन हुने इकाईमध्ये १३ प्रतिशत अर्थात् एक करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकका लागि सुरक्षित गरिएको छ। त्यस्तै, योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि २० लाख इकाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ।

फण्डका लागि असोज १ गतेदेखि आवेदन खुला हुनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति असोज ६ गते तोकिएको छ। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा असोज १५ गतेसम्म म्याद थप गर्न सकिने व्यवस्था छ।

फण्डको बिक्री खुला अवधि तथा थप गरिएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरिदका लागि आवेदन प्राप्त भएमा इकाई बाँडफाँट गर्न सकिनेछ। न्यूनतम आवश्यक संख्यामा इकाई बिक्री नभए योजना खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिनेछ।

‘मुक्तिनाथ म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने यो फण्डको अवधि १० वर्ष रहनेछ। यो बन्दमुखी योजना हो। फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकसमेत मुक्तिनाथ क्यापिटल लिमिटेड नै रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरको वेब तथा एपमार्फत आवेदन दिन सक्नेछन्।

यस योजनाको बिक्री प्रबन्धक स्वयं मुक्तिनाथ क्यापिटल रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयरको वेब तथा मोबाइल एपमार्फत आवेदन दिन सक्नेछन्।

भदौ २२, २०८३ सोमबार १०:४२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।