बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन लम्बियो, ९२ प्रतिशत टावर सञ्चालनमा
काठमाडौं : निजी दूरसञ्चार सेवाप्रदायक एनसेलले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गरेको छ।
सहज सञ्चार, खोज तथा उद्धार र राहत वितरणलाई सघाउन कम्पनीले भदौ २० देखि २६ गतेसम्मका लागि निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको म्याद बढाएको हो।
बाढी आएको दिन (भदौ १०) तीन दिनका लागि घोषणा गरिएको यो सेवा पछि भदौ १९ सम्म लम्ब्याइएको थियो।
विपद्को समयमा प्रभावित नागरिक तथा उद्धार टोलीबीच प्रभावकारी समन्वयका लागि सेवा पुनः थप गरिएको एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले जानकारी दिए।
यसैबीच, बाढीका कारण अवरुद्ध भएका २७ वटा टावरमध्ये एनसेलले ९२ प्रतिशत (२५ वटा) पुनः सञ्चालनमा ल्याइसकेको छ। बिहीबार नुवाकोटको त्रिशूलीस्थित टावर सञ्चालनमा आएसँगै अधिकांश क्षेत्रमा नेटवर्क पुनर्स्थापित भएको छ।
रसुवाको टिमुरेस्थित एक टावर पूर्ण रूपमा नष्ट भएको र उत्तरगयाको तिरुमा रहेको अर्को टावरमा हेलिकप्टरमार्फत उपकरण पुर्याएर सेवा सञ्चालन गर्ने प्रयास भइरहेको कम्पनीले जनाएको छ।
एनसेलले यसअघि नै एनसेल फाउन्डेसनमार्फत खोज, उद्धार तथा राहत कार्यका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १ करोड रुपैयाँ सहयोग गरिसकेको छ।
भदौ २२, २०८३ सोमबार ०९:२२:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।