पार्टीको निर्णय अवज्ञा गर्दा लुम्बिनीका चार सांसद जसपा नेपालबाट आउट
बुटवल : जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशसभाका आफ्ना चार सांसदलाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीको नीति, निर्णय र निर्देशन विपरीत गतिविधि गरेको भन्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो।
पार्टीले काठमाडौंमा बसेको बैठकबाट सांसदहरू सन्तोषकुमार पाण्डेय, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललाई निष्कासन गर्ने निर्णय गरेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए।
जसपा नेपालका अनुसार लुम्बिनीका चार सांसदले पार्टीको निर्णय विपरीत प्रदेश सरकारको पक्षमा मतदान गरेका थिए। त्यसपछि उनीहरू सरकारमा सहभागी भएपछि पार्टीले अनुशासन उल्लंघन गरेको निष्कर्षसहित कारबाही अघि बढाएको हो।
कारबाहीमा परेका सन्तोषकुमार पाण्डेय र भण्डारीलाल अहिर हाल मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको प्रदेश सरकारमा मन्त्री छन्। मुख्यमन्त्री आचार्यले मागेको विश्वासको मतका क्रममा जसपाले सरकारको विपक्षमा उभिन निर्देशन दिए पनि अम्बिका काफ्लेबाहेक चार सांसदले सरकारको पक्षमा मतदान गरेका थिए।
पार्टी महासचिव डा. सुरेन्द्रकुमार झाद्वारा जारी विज्ञप्तिमा पार्टीको निर्णय अवज्ञा गरी सरकारको पक्षमा मतदान गर्नुका साथै सरकारमा सहभागी भएको विषयलाई कारबाहीको आधार बनाइएको उल्लेख छ।
जसपा नेपालले निष्कासन गरिएका सांसदहरूको पद रिक्त गराउन सम्बन्धित प्रदेशसभामा पत्र पठाउने तयारीसमेत गरेको जनाएको छ। लुम्बिनी प्रदेशसभामा जसपा नेपालका पाँच सांसद थिए। चार जनामाथि कारबाही भएपछि अब प्रदेशसभामा पार्टीको प्रतिनिधित्व एक सांसदमा सीमित हुने देखिएको छ।
भदौ १९, २०८३ शुक्रबार २१:५१:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।