कृष्णभीर अवरुद्ध भएपछि त्रिभुवन राजपथबाट ग्यास आपूर्ति, ५८ हजार बढी सिलिन्डर काठमाडौं ल्याइयो

कृष्णभीर अवरुद्ध भएपछि त्रिभुवन राजपथबाट ग्यास आपूर्ति, ५८ हजार बढी सिलिन्डर काठमाडौं ल्याइयो

काठमाडौं : पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्गका रूपमा त्रिभुवन राजपथ (बाइरोड) प्रयोग गरी काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति निरन्तर जारी राखेको छ।

गएको भदौ १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेटहरू रोकिएका थिए। आपूर्ति ठप्प हुन नदिन निगमले तराईका उद्योगहरूबाट भरिएका ग्यास सिलिन्डर त्रिभुवन राजपथ हुँदै भित्र्याउन थालेको हो। यसै क्रममा भदौ १८ गते २४ हजार ५०० र भदौ १९ गते ३४ हजार १३४ वटा सिलिन्डर काठमाडौं भित्र्याइएको निगमले जनाएको छ।

बजारमा ग्यासको अभाव हुन नदिन सार्वजनिक बिदाका दिनमा पनि रिफिलिङ र ढुवानी सुचारु राख्न ग्यास उद्योगहरूलाई निर्देशन दिइएको छ।

यसैबिच, भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका जिल्लाहरूमा क्षति पुगेपछि जारी खोज तथा उद्धार कार्यका लागि निगमले हवाई इन्धन र ग्यास उपलब्ध गराइरहेको छ।

उद्धारमा खटिएका हेलिकप्टरहरूका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म १ लाख २० हजार लिटर हवाई इन्धन रिफ्युलिङ गराइसकिएको छ।

साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका अस्थायी सेल्टरहरूमा ५७५ थान एलपी ग्यास सिलिन्डर पठाइएको निगमले जनाएको छ।

भदौ २१, २०८३ आइतबार १२:१६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।