क्राइम सीन रिक्रिएटको नाममा डोरीले बाँधेर महिलाको हत्याका आरोपीमाथि सार्वजनिक रूपमै कुटपिट, भिडियो सामाजिक सञ्जालमा भाइरल
एजेन्सी : भारतको गुजरात राज्यस्थित भावनगरमा आफ्नी ‘लिभ-इन पार्टनर’को हत्या आरोपीलाई प्रहरीले सार्वजनिक रूपमा कुटपिट गर्यो। क्राइम सीन रिक्रिएट गर्न पुर्याइएका आरोपीलाई प्रहरीले डोरीले बाँधेर लाठी कुटपिट गरेको थियो।
बिहीबार भावनगरको एक बस स्ट्यान्डमा फैजल लखानीले ३३ वर्षीया काजल बरैयामाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते काजलको उपचारका क्रममा अस्पतालमा मृत्यु भएपछि प्रहरीले शुक्रबार फैजललाई हत्याको आरोपमा पक्राउ गरेको थियो।
शनिबार सोही स्थानमा कुटपिट क्राइम सीन रिक्रिएट गर्ने क्रममा प्रहरीले आरोपीलाई डोरीले बाँधेर घिसार्दै सार्वजनिक रूपमै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो।
भारतीय प्रहरीका अनुसार मृतक काजल र आरोपी फैजल विगत ७ वर्षदेखि सँगै बस्दै आएका थिए। फैजलको यसअघि पनि लुटपाट लगायतका अन्य अपराधमा संलग्नता देखिएको थियो। जेलबाट छुटेपछि फैजलले काजलको अर्को व्यक्तिसँग सम्बन्ध रहेको थाहापाएपछि विवाद हुँदा उनीमाथि कुटपिट गरेका थिए।
नीलमबाग प्रहरी चौकीका इन्स्पेक्टर डीपी उनादकटका अनुसार सार्वजनिक स्थलमै महिलामाथि क्रूरतापूर्वक कुटपिट भएपछि दोषीमाथि ठोस कारबाही नभएको भनेर प्रहरीको कार्यशैलीमाथि प्रश्न उठ्न थालेको थियो। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार अपराधीहरूलाई कडा सन्देश दिन र सुरक्षाको प्रत्याभूति गराउन आवश्यक ठानेर यस्तो कदम चालिएको दाबी उनादकटले गरेका थिए।
आरोपीमाथिको प्रहरी प्रशासनले सार्वजनिक रूपमा गरेको यो कुटपिटको घटना गुजरात राज्यको गृह विभागले जारी गरेको निर्देशिका विपरीत देखिन्छ। गुजरात उच्च अदालतमा विचाराधीन एक जनहित याचिकाको सन्दर्भमा गृह विभागले गत मे ७ मा एक परिपत्र जारी गर्दै प्रहरीलाई कुनै पनि आरोपीलाई सार्वजनिक रूपमा कुटपिट गर्न, उठबस गराउन वा अपमानजनक व्यवहार गर्न निषेध गरेको थियो।
उक्त परिपत्रमा यस्ता गतिविधि गर्ने प्रहरी कर्मचारीमाथि विभागीय कारबाही हुने र सम्बन्धित क्षेत्रका उच्च अधिकारीलाई समेत जिम्मेवार ठहर्याइने स्पष्ट व्यवस्था छ। निर्देशिका विपरीत भएको पछिल्लो यस घटनाले कानुनी राज्यको अवधारणा र प्रहरी आचरणमाथि पुनः बहस सुरु भएको छ।
भदौ २१, २०८३ आइतबार १०:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।