बाढी प्रभावितलाई प्रधानमन्त्री वालेन्द्रको सन्देश : ‘हजुरहरू एक्लो हुनुहुन्न’

बाढी प्रभावितलाई प्रधानमन्त्री वालेन्द्रको सन्देश : ‘हजुरहरू एक्लो हुनुहुन्न’

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावितहरूलाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले भने, “तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंको साथमा छ, सरकार तपाईंको साथमा छ।”

“बाढी प्रभावित क्षेत्र, नुवाकोटको विदुर-१० बेत्रावतीमा आज सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छ”, उनले भने, “यो खबर खोज तथा उद्धारमा हामी अझै डटेर लागिरहेका छौं भन्ने सन्देश पनि हो।”

सरकारले चन्द्रिका आमाको उमेर समूहका र त्योभन्दा माथिल्लो उमेरका धेरैलाई प्रभावित क्षेत्रबाट उद्धार गरिसकेको शाहले उल्लेख गरे। बाढीका क्रममा कतिपय आमाबुबाले आफ्नो ज्यानको समेत परवाह नगरी कापिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनुपरेको उल्लेख गर्दै उनले जीवनको उत्तरार्धमा यस्ता कठिन परिस्थिति भोग्नुपरेको बताए।

लौरो नटेकी दुई पाइला सर्न नसक्ने गोडामा पनि त्यस्तो बेला आफ्ना सन्तान बचाउने अनौठो हिम्मत आएको उनको भनाइ छ। बाढीका कारण वृद्धाश्रममा बसिरहेका आमाबुबासमेत सुरक्षित स्थानतर्फ भाग्नुपरेको शाहले उल्लेख गरे।

“बाढी आउनुअघिसम्म हजुर आफ्नै घरको आँगनमा बसेर नदी किनारामा रहेको खेतबारीमा छोराछोरीले काम गरिरहेको हेरिरहनुभएको थियो होला”, सन्देशमा भनिएको छ, “नातिनातिनाहरू हात हल्लाउँदै विद्यालय गएको हेरिबस्नुहुन्थ्यो होला। उनीहरू आउने पर्खाइमा बाटोमा नजर लगाइरहनुहुन्थ्यो होला।”

चौतारीमा बसेर छिमेकीसँग वर्षौंदेखिका दुःखसुख, अनुभव र ज्ञान बाँड्ने ज्येष्ठ नागरिकको दैनिकीसमेत बाढीले प्रभावित बनाएको उनले उल्लेख गरे। “अहिले न ती घरआँगन छन्, न त चौतारीमा बसेर दुःखसुख साट्ने अवस्था नै छ”, उनले भने, “त्यो बिहान भोटेकोशीको विनाशकारी बाढीले एकैछिनमा धेरै कुरा खोसेर लग्यो।”

बाढीका कारण कतिपयले आफ्नै आँखाअगाडि छोराछोरी र काँधमा हुर्काएका नातिनातिना बगेको हेर्न विवश हुनुपरेको तथा कतिपयले जीवनसाथी गुमाएर पूर्णतः एक्लो हुनुपरेको उनले उल्लेख गरे। जीवनभर पसिना बगाएर जोडेको घर, खेतबारी तथा सन्तानसरह माया गरेर हुर्काएका पशुपन्छीसमेत क्षणभरमै बाढीमा बगेको उनले बताए।

आफ्नै घर व्यवहार सम्हालिरहेका ज्येष्ठ नागरिक अहिले सरकारले व्यवस्था गरेका अस्थायी शिविरमा बस्नुपरेको उल्लेख गर्दै उनले होल्डिङ सेन्टरमा राहत, स्वास्थ्य सेवा र जीवनयापनका लागि आवश्यक सुविधा पुर्याइएको बताए। नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, विदुर भवन बाढीबाट क्षतिग्रस्त भएपछि त्यहाँ रहेका सात जना आमाबुबालाई नेपाल सिनियर केयर, म्हैपी, काठमाडौंमा तथा १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको उनले जानकारी दिए।

उनीहरूलाई हिँडडुलका लागि आवश्यक ह्वीलचियर तथा वाकर उपलब्ध गराइएको र मानसिक आघात तथा शारीरिक कष्ट कम गर्न विशेष टोलीमार्फत निरन्तर स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको उनले बताए। “अस्थायी बसाइलाई सकेसम्म छोटो बनाइ हजुरहरूलाई हर सम्भव छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने छौं”, उनले भने।

बाढीबाट प्रभावित ज्येष्ठ नागरिकको पीडा आफूहरूले हृदयदेखि महसुस गरेको उल्लेख गर्दै शाहले जीवनको कठिन मोडमा उनीहरूलाई कहिल्यै अलपत्र नछाड्ने प्रतिबद्धता व्यक्त गरे। “हजुरहरूले आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौं। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ”, उनले भने।


जीवनमा अनेक घामपानी, खडेरी र आँधीबेहरी पार गरेका ज्येष्ठ नागरिक भोटेकोशीको बाढीले ओत र जायजेथा बगाए पनि उनीहरूको स्वाभिमान, अनुभव र मार्गदर्शनको अपरिहार्यतालाई बगाउन नसकेको शाहको भनाइ छ। “हजुरहरू यो देशका जग र हाम्रा मार्गदर्शक हुनुहुन्छ”, उनले भने, “कृपया मन दह्रो बनाइदिनुहोस् र हामीलाई परिवारकै सदस्य मानेर सल्लाह र मार्ग निर्देशन गर्नुहोस्।”

शाहले बाढीका क्रममा धेरै आमाबुबालाई गुमाउनुपरेको दुःखद पक्षसमेत उल्लेख गरे। उनीहरू सिङ्गो घरको मूल खम्बा, संस्कार र ज्ञानका स्रोत रहेको उल्लेख गर्दै उनीहरूप्रति भावपूर्ण सामूहिक श्रद्धाञ्जली अर्पण गरे। आफन्त गुमाएर अथाह पीडामा रहेका नागरिकको आक्रोश स्वाभाविक भएको उनले बताए।

“एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो”, उनले भने। पीडामा रहेका मानिसको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्नेमा जोड दिँदै शाहले यस्तो संवेदनशील घडीमा पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने चेतावनी दिए।

बाढीपछि उद्धार तथा खोजीमा सुरक्षाकर्मी अझै खटिरहेको उल्लेख गर्दै उनले दलदल र खण्डहर बनेका क्षेत्रमा सुरक्षाकर्मीले आफ्नो ज्यान जोखिममा राखेर खोजी गरिरहेको बताए। “हाम्रा सुरक्षाकर्मीहरू अझै पनि कुनै बहाना नबनाई बाढीपछिको दलदल र खण्डहर बनेका क्षेत्रमा खोस्रिरहेका छन्। उहाँहरूका आँखा चनाखा छन्”, उनले भने।

आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा खोजीमा खटिएका सुरक्षाकर्मीप्रति हरेक दिन हृदयदेखि कृतज्ञता व्यक्त गर्नुपर्ने र उनीहरूको आत्मबल बढाउनु सबैको कर्तव्य भएको प्रधानमन्त्री शाहले बताए। 

भदौ २०, २०८३ शनिबार २१:५८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।