३६ महिनाभित्र सकिनुपर्ने जाजरकोट ताक्सुगाडको पुल ६ वर्षमा पनि बनेन, अस्थायी कजवे पनि बग्यो
सुर्खेत : जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने ताक्सुगाड खोलामा पक्की पुल नबन्दा भेरी करिडोर भएर यात्रा गर्ने यात्रु, सवारीसाधन र स्थानीयवासीले वर्षौँदेखि सास्ती खेप्दै आएका छन्।
आवतजावत सहज बनाउन बनाइएको अस्थायी कजवे पनि साउन २९ गते आएको बाढीले बगाएपछि यात्रा नै जोखिमपूर्ण बनेको छ।
पुल निर्माणमा भइरहेको ढिलाइको सबैभन्दा ठूलो असर विद्यार्थीको पढाइमा परेको छ। नलगाड नगरपालिका -१० को रोलीलगायतका बस्तीका विद्यार्थी नलगाड-११ मा रहेको गणेश आधारभूत विद्यालय जान खोला तर्नु पर्ने बाध्यता छ।
स्थानीयका अनुसार खोलापारिबाट मात्रै १०१ जना विद्यार्थी उक्त विद्यालयमा अध्ययन गर्न जाने गरेका छन्। विद्यालय रहेको चोखा क्षेत्रमा ६१ जना विद्यार्थी अध्ययनरत छन्। बाढीले कजवे बगाएपछि खोलापारिका विद्यार्थीको नियमित पठनपाठनै रोकिएको छ।
ठेक्का लाग्यो, पुल बनेन
क्याराभान हिराचन जेभीले १८ करोड ४३ लाख ४३ रुपैयाँमा २०७७ माघ २ गते नलगाड खोला र झिमीखोलामा १५० मिटर पुल बनाउने भन्दै भेरी करिडोर योजनासँग सम्झौता गरेको थियो।
त्यस्तै नलगाड ८ को मैदेखोला , वडा नम्बर ८ र ९ को सिमानामा रहेको त्रात्रगाड खोला , वडा नम्बर १० र ११ को बिचमा रहेको ताक्सुगाडमा पुल निर्माण गर्ने भन्दै रायमाझी क्याराभान जेभीले २०७७ माघ २ गत नै १३ करोड ५४ लाख ३८ हजार ९०० मा अर्को ठेक्का लिएको थियो। यी दुई पुल १ सय मिटरका हुन्।
सम्झौताअनुसार पुल ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि करिब ६ वर्ष बितिसक्दा समेत ताक्सुगाड पुलको काम अघि बढ्न सकेको छैन। पुल नबन्दा भेरी करिडोरमा वर्षायाममा यातायात सञ्चालन जोखिमपूर्ण छ।
पाँच घर र झोलुङ्गे पुल पनि बग्यो
साउन २९ गते ताक्सुगाडमा आएको बाढीले पाँच घर तथा झोलुङ्गे पुलसमेत बगायो। बाढीले सडक आवागमनमा प्रयोग भइरहेको अस्थायी कजवेमा समेत क्षति पुर्याएपछि भेरी करिडोरको आवागमन प्रभावित भयो।
स्थायी पुल निर्माण भएको भए बाढीका बेला अस्थायी कजवे र झोलुङ्गे पुलमा निर्भर हुनुपर्ने अवस्था नआउने वडा सदस्य विशाल विकले बताए।
नलगाड नगरपालिकाका सचिवालयमा कार्यरत तेज विकका अनुसार स्थायी पुल निर्माणको काम अघि नबढ्ने र तत्काल बलियो अस्थायी संरचना पनि निर्माण नहुने हो भने वर्षायाममा भेरी करिडोरको यात्रा झनै जोखिमपूर्ण बन्नेछ।
‘निर्माण व्यवसायीले लामो समयदेखि ठेक्का लिएर पनि काम सुरु गरेको छैन। अहिले अस्थायी संरचना पनि बाढीले बगाएको छ। नयाँ अस्थायी संरचना नबनाउने हो भने आकाशमा बादल देखिनासाथ भेरी करिडोरको यात्रा स्थगित गर्नुपर्ने अवस्था आउँछ,’ विकले भने।
भेरी करिडोर सडक योजनाले ताक्सुगाडमा तत्काल अस्थायी संरचना निर्माण गर्न निर्माण व्यवसायीलाई आग्रह गरिएको जनाएको छ।
नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले निर्माण व्यवसायीले फोनसमेत नउठाउने गरेको गुनासो गरे। पुल निर्माण संघ सरकारको योजनाअन्तर्गत रहेकाले नगरपालिकाले प्रत्यक्ष रूपमा निर्माणको काम गर्न नसके पनि आवश्यक सहजीकरण र समन्वय गर्दै काम अघि बढाउन दबाब दिइरहेको रावतले बताए।
उनका अनुसार स्थानीयवासीको समस्या समाधान गर्न सम्बन्धित निकायसँग समन्वय गरेर तत्काल अस्थायी आवतजावतको व्यवस्था मिलाउन र स्थायी पुल निर्माणको काम अघि बढाउन दबाब दिइरहेको छ।
ठेक्का व्यवस्थापनमाथि प्रश्न
ताक्सुगाडको पुल निर्माणमा भइरहेको ढिलाइले ठेक्का व्यवस्थापन र सरकारी अनुगमनमाथि समेत प्रश्न उठाएको छ। निर्माण व्यवसायीसँग सम्झौता भएको लामो समय बितिसक्दा पनि काम अघि नबढ्नु, अस्थायी संरचनामै निर्भर हुनुपर्ने अवस्था आउनु र बाढीले अस्थायी संरचना बगाएपछि पनि तत्काल स्थायी समाधान नदेखिनुले सम्बन्धित निकायको जबाफदेहितामाथि प्रश्न उठेको छ।
-नेपाल न्युज बैंक
भदौ २०, २०८३ शनिबार १८:५६:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।