तिनाउमा ‘सिग्नेचर ब्रिज’ निर्माण गर्न ठेक्का, तीन वर्षमा फेरिनेछ बुटवलको स्वरूप!
बुटवल : पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवलस्थित तिनाउ नदीमा आकर्षक ‘सिग्नेचर ब्रिज’ निर्माणका लागि ठेक्का सम्झौता भएसँगै आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।
करिब एक अर्ब ७० करोड रुपैयाँमा लागतमा निर्माण हुने तिनाउ नदीमा नयाँ पुल तथा पहुँच मार्गको ठेक्का चीनको एम/एस आन्हुई सिन्जियान होल्डिङ ग्रुप कम्पनीले पाएको छ। परियोजनाका निर्देशक इन्जिनियर अर्जुनप्रसाद अर्यालका अनुसार उक्त कम्पनीसँग ठेक्का सम्झौता भएको छ।
सम्झौताअनुसार निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए। आयोजनाअन्तर्गत हाल सञ्चालनमा रहेको पुलको दुवैतर्फ दुई-दुई लेनका नयाँ पुल निर्माण गरिनेछ। त्यससँगै पैदल यात्रुका लागि छुट्टै मार्ग र करिब ९८० मिटर पहुँच मार्गसमेत निर्माण हुनेछ।
सडक विभागका अनुसार नयाँ संरचनासहित तिनाउमाथि बन्ने पुल करिब २४० मिटर लामो र चार लेनको हुनेछ। आधुनिक डिजाइन र आकर्षक स्वरूपमा निर्माण हुने भएकाले पुलले बुटवलको सडक पूर्वाधारसँगै शहरको सौन्दर्य र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नारायणी र तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माण अघि बढाउने योजना सार्वजनिक गरेको थियो। नारायणी नदीमा पुल निर्माणको काम सुरु भइसकेको अवस्थामा तिनाउका लागि भने ठेक्का सम्झौता सम्पन्न भएको हो।
हाल पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड स्तरोन्नतिको काम पनि अघि बढिरहेको छ। करिब ५० किलोमिटर लामो उक्त सडकलाई विभिन्न खण्डमा विभाजन गरी चार लेनमा विस्तार गर्ने काम भइरहेको छ। सोही स्तरोन्नति योजनासँग तिनाउको नयाँ सिग्नेचर ब्रिजलाई समेत जोडिएको छ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पुल निर्माण क्षेत्र आसपासका पर्यटकीय गन्तव्यसँग जोडिएकाले यसको निर्माणले स्थानीय बासिन्दा र स्थानीय सरकारलाई समेत प्रत्यक्ष लाभ पुग्ने बताए।
तिनाउमाथि बन्ने नयाँ पुललाई यातायात सहज बनाउने पूर्वाधारसँगै बुटवलको नयाँ पहिचानका रूपमा विकास गर्ने अवसरका रूपमा हेरिएको छ। आयोजनाले सडक आवागमनलाई व्यवस्थित गर्नुका साथै आकर्षक संरचनाका कारण शहरको पर्यटन र सौन्दर्यमा समेत थप योगदान पुर्याउने उनले बताए।
भदौ १९, २०८३ शुक्रबार २२:१४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।