दार्चुलामा पहिरो खसेपछि आधा थुनियो चौलानी नदी, तटीय बस्ती जोखिममा

दार्चुलामा पहिरो खसेपछि आधा थुनियो चौलानी नदी, तटीय बस्ती जोखिममा

दार्चुला : अपिहिमाल गाउँपालिका- १ भट्टार बस्ती नजिकै चौलानी नदीमा शुक्रबार पहिरो खसेको छ। पहिरोले नदी आधा थुनिएको छ। 

पहिरो खस्ने क्रम जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्भावित जोखिमबाट बच्न तथा धनजनको क्षति न्यूनीकरण गर्न चौलानी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक र सम्बन्धित निकायलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ। 

प्रशासनले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि १९५५ तथा विपद्का समयमा सहयोग आवश्यक परे १२३४ मा सम्पर्क गर्न आग्रह गरेको छ। त्यस्तै, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बरमा समेत सम्पर्क गर्न सकिने जनाएको छ।

विपद्का समयमा कुनै घटना भएमा वा उद्धारको आवश्यकता परेमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणमा समेत जानकारी गराउन प्रशासनले आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारीको सम्पर्क नम्बर ९८५८७२७७७७ र सहायक प्रमुख जिल्ला अधिकारीको ९८५८७२४६६६ उपलब्ध गराएको छ। त्यस्तै, जिल्ला प्रहरी कार्यालय दार्चुलाको लागि ९८५१२९४९११ तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका लागि ९८६०३४११७६ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

भदौ १९, २०८३ शुक्रबार १६:३३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।