त्रिशूली-३ ‘ए’ सुरुङबाट कबिर महर्जनको पनि जीवितै उद्धार, हात जोडेर उद्धारकर्मीलाई दिए धन्यवाद
काठमाडौं : रसुवा बाढीको १० दिनपछि त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये अर्का एक जनाको पनि सकुशल जीवितै उद्धार गरिएको छ।
उद्धार टोलीले मेकानिकल फोरम्यान सञ्जय साहलाई बाहिर निकालेको केही समयमै मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई पनि जीवितै उद्धार गर्न सफल भएको हो। निकाल्ने बेलामा महर्जनले हात जोडेर उद्धारकर्मीलाई धन्यवाद दिएका थिए।
साहको उद्धारलगत्तै भित्र अर्का एक व्यक्ति जीवितै रहेको यकिन भएको थियो। सोही आधारमा नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले तत्काल सुरुङभित्र खोजी तीव्र पार्दै महर्जनलाई पनि सकुशल बाहिर निकालेको हो।
यसअघि सुरुङभित्रबाट मानिसहरूको आवाज सुनिएपछि उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दा भित्रबाट ‘हुन्छ’ भन्ने जवाफ आएको थियो। सोही दोहोरो संवाद र जीवित रहेको सङ्केत पाएपछि उद्धार टोलीले जोखिम मोलेर सुरुङभित्र प्रवेश गरी लगातार दुई जनाको ज्यान बचाउन सफल भएको हो।
उद्धार गरिएका दुवै जनालाई प्राथमिक उपचार र स्वास्थ्य परीक्षणका लागि पठाइएको छ। सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि फसेको हुनसक्ने आशंकामा सुरक्षाकर्मीको टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तर जारी राखेको छ।
भदौ १९, २०८३ शुक्रबार ०९:३३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।