सरकारी कोषमा निजी क्षेत्रको आर्थिक सहयोग : कुन संस्थाले कति रकम दिए ?
काठमाडौं : भोटेकोशी र त्रिशूली नदीमा गत हप्ताको बुधबार आएको बाढीबाट प्रभावितहरूका लागि राहत तथा पुनःस्थापनाका लागि निजी क्षेत्रबाट 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष'मा आर्थिक सहयोग जम्मा हुने क्रम निरन्तर जारी छ।
बाढीबाट जनधनको क्षति भएपछि निजी क्षेत्रका बैंक, औद्योगिक घराना र व्यावसायिक संस्थाहरूले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत उक्त रकम जम्मा गर्न हस्तान्तरण गरे। वाग्लेले संकटको समयमा निजी क्षेत्रले देखाएको सामाजिक उत्तरदायित्वको प्रशंसा गरे।
प्राप्त सहयोग रकमलाई बाढी प्रभावित क्षेत्रको पुनःस्थापना र राहत कार्यमा परिचालन गरिने जनाए। सहयोगी संस्थाहरूले पनि विपद्को बेलामा सरकार र नागरिकको साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा बाढीले पुर्याएको क्षतिको पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले सहयोग रकम कोषमा जम्मा गरिने उनीहरूको भनाइ थियो।
लक्ष्मी सनराइज बैंक : बैंकले तीन करोड २४ लाख रुपैयाँ कोषमा जम्मा गरेको छ। बाढीका कारण विस्थापित भएकाहरूको राहत र क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणमा सहयोग होस भनेर उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ।
रिद्धी सिद्धि र सौर्य सिमेन्ट : रिद्धी सिद्धि सिमेन्ट र सौर्य सिमेन्टले संयुक्त रूपमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेका छन्। यसमध्ये रिद्धी सिद्धि सिमेन्टबाट ५१ लाख र सौर्य सिमेन्टबाट ५० लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ।
महालक्ष्मी विकास बैंक : बैंकले कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ। संस्थागत योगदानका साथै बैंकमा कार्यरत कर्मचारीहरूको एक दिनको पारिश्रमिक समेत समावेश रहेको बैंकले जनाएको छ।
एसटीसी ग्रुप : एसटीसीले ५० लाख एक हजार रुपैयाँ सहयोग गरेको छ। ग्रुपका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले अर्थमन्त्रीलाई हस्तान्तरण गरे। उक्त रकममा भारतीय कम्पनी 'भेरोक इन्टरनेशनल'को तर्फबाट प्राप्त १० लाख रुपैयाँ समेत समावेश गरिएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल : नाडाले १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्रीलाई भेट गरी कोषमा उक्त रकम जम्मा गरेको हो। नगद सहयोगका अतिरिक्त नाडाले बाढी प्रभावित क्षेत्रमा पुगेर खाद्यान्न लगायतका राहत सामग्री समेत वितरण गरिरहेको जनाएको छ।
भदौ १८, २०८३ बिहीबार २०:२६:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।