होटल र घरायसी प्रयोजनका लागि अब छुट्टाछुट्टै ग्यास सिलिन्डर
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले होटल व्यवसाय र घरायसी प्रयोजनका लागि छुट्टाछुट्टै एलपी ग्यास सिलिन्डरको व्यवस्था गर्न मन्त्रालय र नेपाल आयल निगमले गृहकार्य अघि बढाइसकेको जानकारी दिएकी छन्।
बाढीपहिरोका कारण काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ग्यास आपूर्ति असहज बनेपछि आयोजना गरिएको होटल व्यवसायीहरूसँगको छलफलमा उनले व्यावसायिक प्रयोगका लागि ठूला सिलिन्डर ल्याउने प्रस्तावसमेत अघि सारेकी हुन्।
कृष्णभीरमा गएको पहिरोका कारण सडक अवरुद्ध भई ग्यास ढुवानी प्रभावित भएपछि मन्त्रालयमा आयोजित छलफलमा उनले संकटका बेला उपभोक्तालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।
गौरीकुमारीले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गरिन्। उनले ग्यास आयात तथा ढुवानी प्रभावित भएको अवस्थामा होटल व्यवसायीलाई आवश्यक ग्यास आफैं आयात गर्नसमेत उनको आग्रह छ। त्यसका लागि सुरक्षालगायत आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको उनले बताइन् ।
होटल व्यवसायलाई बन्द गराउने सरकारको कुनै सोच नरहेको स्पष्ट पार्दै उनले देशको अर्थतन्त्र र पर्यटन क्षेत्र चलायमान बनाउन होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताइन्। अहिलेको अवस्थामा भने उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर ग्यास आपूर्तिलाई सहज बनाउन सबै पक्षले सहयोग गर्नुपर्ने उनको भनाइ थियो।
भदौ १८, २०८३ बिहीबार १६:५९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।