प्रधानमन्त्री राहत कोषमा जी मनि ट्रान्सको २२ लाख सहयोग, कोरियाबाट रेमिट्यान्स पठाउँदा शुल्क नलाग्ने

प्रधानमन्त्री राहत कोषमा जी मनि ट्रान्सको २२ लाख सहयोग, कोरियाबाट रेमिट्यान्स पठाउँदा शुल्क नलाग्ने

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि दक्षिण कोरियास्थित रेमिट्यान्स कम्पनी 'जी मनि ट्रान्स' ले १५ हजार अमेरिकी डलर आर्थिक सहयोग गरेको छ।

बाढीका कारण घरबारविहीन भएका र प्रभावित बनेका नागरिक तथा समुदायको राहत, पुनर्स्थापना र आवश्यक व्यवस्थापनमा सानै भए पनि योगदान पुगोस् भन्ने उद्देश्यले कम्पनीले उक्त रकम 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा जम्मा गरेको जनाएको छ।

यसैगरी, विपद्को यो कठिन घडीमा दक्षिण कोरियामा कार्यरत नेपालीहरूलाई आफ्नो घरपरिवारसम्म आर्थिक सहयोग पठाउन सहज होस् भनेर कम्पनीले विशेष सुविधासमेत ल्याएको छ।

जी मनि ट्रान्समार्फत कोरियाबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क (सर्भिस चार्ज) पूर्ण रूपमा मिनाहा गरिएको कम्पनीले जनाएको छ। यसबाट कोरियामा रहेका नेपालीले छिटो, सहज र बिना कुनै अतिरिक्त शुल्क आफ्नो परिवारलाई पूर्ण रकम पठाउन सक्नेछन्।

कम्पनीले एक शोक वक्तव्य जारी गर्दै विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

साथै, यस अत्यन्तै संवेदनशील र सङ्कटपूर्ण समयमा नागरिकको जीवन रक्षा, उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा अहोरात्र खटिनुभएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित सरकारी निकायहरूप्रति कम्पनीले उच्च सम्मानसहित हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

भदौ १८, २०८३ बिहीबार ११:५८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।