पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौंमा ग्यास सङ्कट टार्न हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास ल्याइने

पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौंमा ग्यास सङ्कट टार्न हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास ल्याइने

काठमाडौं : बाढीपहिरोका कारण पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प भएपछि काठमाडौं उपत्यकामा हुन सक्ने एलपी ग्यासको अभाव हटाउन सरकारले हेटौँडाबाट वैकल्पिक सडकमार्फत ग्यास आपूर्ति सुरु गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अब उपत्यकाका लागि हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास पठाउने व्यवस्था मिलाइएको छ।

बिहीबारदेखि लागू गरिएको यो नयाँ व्यवस्था अनुसार वैकल्पिक मार्गबाट ग्यासको आपूर्ति निरन्तर जारी रहनेछ। नेपाल आयल निगम र एलपी ग्यास व्यवसायीसँगको निरन्तर समन्वयका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव आगामी केही दिनभित्र क्रमशः समाधान हुने मन्त्रालयको दाबी छ।

मन्त्रालयले विपद्को यो कठिन परिस्थितिमा सर्वसाधारणको दैनिकी थप प्रभावित नहोस् भन्ने उद्देश्यले आपूर्ति प्रणालीलाई सहज, नियमित र प्रभावकारी बनाउन हरसम्भव पहल भइरहेको जनाएको छ।

भदौ १० गतेको बाढीका कारण करिब दुई दिनसम्म लेदो जमेर अवरुद्ध भएको पृथ्वी राजमार्ग कृष्णभीर क्षेत्रमा सडक नै भासिएपछि पूर्ण रूपमा बन्द भएको हो। राजमार्ग नखुलेसम्म वैकल्पिक मार्गबाटै आपूर्ति धान्ने मन्त्रालयको तयारी छ।

मन्त्रालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

 

भदौ १८, २०८३ बिहीबार १०:३३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।