“बा-आमा, दाजुभाइ, बुहारी, भतिजी सबै हराए”
काठमाडौं : डल्लुमा रहेको शोभा भगवती मन्दिर नजिकै च:मतीमा रहेको डेरामा उकेराकर्मी पुग्दा शान्ता गुरुङ सहित उनका आफन्त भावविह्वल थिए। भदौ १० गते भोटेकोशी-रसुवागढीमा लाङटाङ-लिराङबाट आएको हिम चट्टान सहितको बाढीले उनको परिवार नै उजाड बनाइदियो।
७० कटेका उनका बुबा रणबहादुर दमाई,आमा ठूली दमाई, ४५ वर्षका माइला दाइ अणीन्द्र दमाई अणिन्द्रकी छोरी रेखा परियार, कान्छो भाइ ३५ वर्षे इन्द्र बहादुर परियार, बुहारी कल्पना परियार, उनीहरूका दुई छोरी ९ वर्षकी एलिसा परियार र कान्छी छोरी ४ वर्षकी स्मृति परियार सबै बेपत्ता छन्।
“बा-आमा दाइ-भाइ कोही नै बाँकी रहेनन्,” शान्ताले भनिन्, “भदैहरू साना थिए। अहिलेसम्म उनीहरूको केही अत्तोपत्तो भएन।”
रसुवाको पैरेवेंशीमा बस्ने उनका बुबा-आमा र माइला अणिन्द्र र उनी छोरी रेखा थिए। रेखाकी आमा सुकमा परियार भने काठमाडौँ आएर जोगिइन्। उनका कान्छा भाइ त्रिशूली पारी बस्थे। उनीहरूको बसाई वारी र पारी थियो। घर बेसीमै थियो।
“बुबा-आमा, मेरो छोरी र बुढा त्यहीँ थिए,” छोरीको तस्बिर देखाउँदै सुकमाले भनिन्, “१९ वर्षकी थिई, १२ कक्षा सकेर बसेकी सन्तान नै यही एउटी थिई।”
शान्ताका जेठा दाइ लेखबहादुर दमाई परिवार सहित धादिङको गल्छीमा बस्छन्। बाढी आएको थाहा पाउने बित्तिकै उनले रसुवा-नुवाकोट फोन गरे तर फोन लागेन। बुबा-आमा सहित भाइहरूका परिवार खोज्न उनी काठमाडौँ आए।
काठमाडौँबाट शान्ता सहित उनीहरू नुवाकोट निस्किए तर बाटो नभएको भन्दै उनीहरू घरसम्म पुग्न पाएनन्। अर्को दिन त्रिशूली पुगेर उनीहरूले ब्यारेकमा बेपत्ता भएको सदस्यहरूको नाम टिपाए।
बाढीमा परेकाहरूको शव बगाउँदै चितवन पुगेको खबर पाएपछि शान्ता बुबा-आमा र दाइ भाइका परिवार खोज्न चितवनसम्म पुगिन्। शवका फोटो टाँसिएका स्थानहरूमा गएर हेरिन् तर उनले कोही देखिनन्।
“गाउँ पूरै बगाएको छ। हाम्रा परिवारका सदस्यहरू भाग्दा भाग्दै त्रिशूलीले बगाएको माथि चौतारामा बसेकाहरूले देखेँ भनेर भन्नुभयो,” रुदैं शान्ताले भनिन्, “बगाएकै भए त जिउँदो के भेटिएला र भन्दै शव राखिएको ठाउँहरूमा पुगेँ। तर केही भेटिन।”
परिवारका सदस्य बाढीले बगाएकै देखेको भनेकाले हराएकाहरू ज्यूँदै भेटिने आस कमै छ। तै पनि मन न हो। कतै चमत्कार भइहाल्छ कि भन्ने नलाग्ने हैन। उकेराकर्मीसँग लेखबहादुरले हराइरहेका परिवारमध्ये एक जनासम्म पनि भेटिए हुने भन्दै भक्कानिए।
“७ दिन भइसक्यो, बगाएको देखेको भनेपछि सासको त आस छैन,” उनले भने, “एक जनाको लास भेटिए पनि अन्तिम संस्कार गर्न हुन्थ्यो।”
सुकमा घाइते अथवा मृतकको सूचीमा बाढीमा हराइरहेका परिवारमा कोही कसैको तस्बिर भेटिन्छ की भन्दै त्रिवि शिक्षण र वीर अस्पताल दिनकै पुग्छिन् तर एकै जना समेत नदेख्दा मन खिन्न हुने बताइन्। पहिचान हुन नसकेका शव राखेको ठाउँमा पनि उनीहरू पुगे। तर हराइरहेका परिवारका सदस्य देखेनन् ।
“त्यहाँ साना–साना बच्चाहरू पनि छन्। त्यो देख्दादेख्दै हामी नै बेहोस हुन्छौं जस्तो हुन्छ,” शान्ता भन्छिन्, “हेर्न सक्ने स्थिति नै छैन। मेरो दाइका बच्चाहरू पनि परेका छन्। कसरी हेर्नु?”
परिवारले आफ्ना आफन्तलाई चिन्न सकिने केही चिन्ह पनि दिएका छन्। दाइको शरीरमा ट्याटु रहेको उनी बताउँछिन्।
“ट्याटु भएकाले केही आस थियो, कतै त्यसबाट पहिचान हुन्छ कि भनेर। तर अहिलेसम्म केही खबर आएको छैन” उनले भनिन्।
परिवार लामो समयदेखि त्रिशूली नदी आसपास बस्दै आएको थियो। पहिले उनीहरूको घर माथिल्लो क्षेत्रमा थियो। पछि बुवा तलतिर सरेका थिए। परिवार पनि त्यहीँ बस्न थालेको थियो। बुबा-आमा गाउँमा नै बसे पनि उनीहरू भने कामको सिलसिलामा काठमाडौँ बस्दै आएका छन्।
“सास छ भने त यत्रो दिनमा मेरो दाइ–भाइहरू फर्केर आउनुहुन्थ्यो। यत्रो दिन भइसक्यो, खोजेको खोज्यै छौँ। अहिलेसम्म अत्तोपत्तो छैन” शान्ता भन्छिन् “सरकारलाई मेरो अनुरोध छ, केही न केही पत्ता लगाइदिन पर्यो।”
भदौ १७, २०८३ बुधबार २०:१५:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।