विद्युत् नियमन आयोगद्वारा उद्धार कोषमा एक करोड सहयोग
काठमाडौं : रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विद्युत् नियमन आयोगले एक करोड सहयोग गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगस्वरूप सो रकमको चेक हस्तान्तरण गरिएको आयोगले जनाएको छ।
विपद्को अवस्थामा प्रभावित क्षेत्रमा विद्युत् सेवाको सुरक्षा, निरन्तरता तथा यथाशीघ्र पुनःस्थापनाका लागि सम्बन्धित विद्युत् उत्पादन, प्रसारण तथा वितरण संस्थासँग आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न प्रतिबद्ध रहेको आयोगले जनाएको छ।
भोटेकोशीमा उत्पन्न विपद्ले विद्युत् क्षेत्रको नियमनमा प्राकृतिक प्रकोपलाई कुनै एक आयोजना वा अनुमतिपत्रप्राप्त संस्थासम्म सीमित काबु बाहिरको परिस्थितिको विषयका रूपमा हेर्ने परम्परागत दृष्टिकोण पर्याप्त नरहेको तथ्य आयोगले प्रस्ट्याएको छ।
क्षतिग्रस्त विद्युत् संरचनाको प्राविधिक अवस्था, जोखिम तथा पुनःस्थापनाको प्रगतिबारे आवश्यक विवरण उपलब्ध गराउन सम्बन्धित संस्थालाई अनुरोध गर्दै आयोगले यस्ता विपद्बाट भविष्यमा विद्युत् जस्तो आधारभूत सेवालाई अझै सुरक्षित, सक्षम र प्रतिरोधी बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
जलविद्युत् आयोजना, प्रसारण प्रणाली र विद्युत् व्यापारबीचको अन्तरसम्बन्ध क्रमशः बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा एउटा नदी बेसिनमा घटित ठूलो प्राकृतिक विपद्को प्रभाव सम्बन्धित एकल आयोजनामा मात्र सीमित नरही यसले विद्युत् उत्पादन तथा आपूर्ति, प्रसारण प्रणालीको स्थायित्व र दिगोपना, विद्युत् व्यापार, आयोजनाको वित्तीय दायित्व तथा सीमापार विद्युत् प्रवाहमा परोक्ष वा अप्रत्यक्ष अझै असर पुर्याउनसक्ने देखिएको विज्ञप्तिमा उल्लेख छ।
भदौ १७, २०८३ बुधबार १८:१३:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।