प्रधानमन्त्रीलाई प्रचण्डले भने - ‘गम्भीर भएर सबैको विश्वास जित्नुस्, नत्र समयले पर्खिने छैन’

प्रधानमन्त्रीलाई प्रचण्डले भने - ‘गम्भीर भएर सबैको विश्वास जित्नुस्, नत्र समयले पर्खिने छैन’

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहार र कार्यशैलीप्रति आपत्ति जनाएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री सदनमा आएर सांसदहरूसँग कुनै संवाद नगरी फर्किने गरेको भन्दै आक्रोश व्यक्त गरे।

प्रचण्डले भने, "प्रधानमन्त्री आउनुहुन्छ, सदनमा कसैको अनुहार पनि नहेरी जानुहुन्छ। यो के तरिका हो? यस्तो त हुँदैन। प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि! तपाईंलाई सहयोग गर्छौं सबैले भनेका छौं, तर पनि कसैको अनुहार नै नहेर्ने के तरिका हो?"

आज देश संकटमा रहेकोले सबैको एकता कायम राख्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको उनले उल्लेख गरे। प्रचण्डले प्रधानमन्त्री शाहलाई ठूलो अवसर प्राप्त भएको र यसलाई गुमाउन नहुने सुझव दिए।

उनले प्रधानमन्त्रीलाई सबैको विश्वास जित्न आग्रह गर्दै चेतावनीको भाषामा भने, "उहाँले गम्भीर भएर सबैको विश्वासको जित्न सक्नु भएन भने समयले नपर्खिनसक्छ उहाँलाई पनि । यति ध्यान रहोस्।"

सदनमा प्रधानमन्त्रीको यो बेवास्तापूर्ण शैलीको आलोचना गर्दै प्रचण्डले सरकार विपद् व्यवस्थापन, उद्धार र जनपरिचालनमा पूर्ण रूपमा असफल भएको आरोप पनि लगाए। बाढीपहिरो आएको सुरुका दिनमा प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता देख्दा आशा जागे पनि पछि सरकार सुस्त र लाचार बनेको उनको भनाइ थियो।

"सरकार सुरुको दिनको तदारुकता र पछिल्लो दिनको उसको कार्यशैली, काम गराइमा फरक देखियो। सरकार उद्धार कार्यमा असफल भयो भन्ने सबैभन्दा बढी जनगुनासो सुनिएको छ। लुकाएर, ढाँटेर हुँदैन। सरकार उद्धार र जनपरिचालनमा असफल भयो,"उनले भने।

प्रचण्डले नेपाली सेनाले जोखिम मोलेर उद्धार तथा राहतमा महत्वपूर्ण भूमिका खेले पनि विपद्को सामना गर्न सबै तहका सरकार र आम नागरिकलाई विश्वासमा लिएर व्यापक परिचालन गर्न नसकिएको बताए।

उनले भने, "सेनाले गरेको काम पनि देखियो। सेनाले धेरै जोखिम उठाएर उद्धार र राहतमा खेलेको भूमिका देखियो। तर यो महाविपत्तिको सामना गर्न सबै तहको सरकार, आम जनतालाई विश्वासमा लिएर जसरी परिचालन गर्नुपर्थ्यो, त्यो भएन। सेना परिचालन भयो, जनपरिचालन भएन। सेना परिचालनसँगै जनपरिचालन जोडिएन भने यो समस्याको समाधान कठिन हुन्छ।"

भोटेकोशीको विपत्तिले जलवायु परिवर्तनको जोखिमलाई उजागर गरेकाले अन्तर्राष्ट्रिय मञ्चमा ‘क्लाइमेट जस्टिस’को मुद्दा उठाउनुपर्नेमा उनले जोड दिए।

"भोटेकोशीमा आएको त्यो भयानक प्रलय मेरो दृष्टिमा हिजो गरेको अध्ययन अनुसन्धान, वैज्ञानिकहरूको निष्कर्ष र मैले अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेका अपिललाई राम्रैसँग प्रमाणित गरेको छ। सबै अन्तर्राष्ट्रिय मञ्चमा क्लाइमेट जस्टिसको कुरा उठाउनुपर्छ र चाँडो अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएर यहाँ सहयोग नल्याउने हो भने नेपाल एक्लैले यो संकटको सामना गर्न सक्दैन," प्रचण्डले भने।

भदौ १७, २०८३ बुधबार १६:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।