भोटेकोशी बाढी प्रभावितको राहतका लागि कर्मचारी सञ्चय कोषको साढे दुई करोड सहयोग

भोटेकोशी बाढी प्रभावितको राहतका लागि कर्मचारी सञ्चय कोषको साढे दुई करोड सहयोग

काठमाडौं : कर्मचारी सञ्चय कोषले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि दुई करोड ५० लाख आर्थिक सहयोग गरेको छ।

कोष सञ्चालक समितिका अध्यक्ष भूपाल बराल, कोषका प्रशासक विजयकुमार श्रेष्ठलगायत कोषका वरिष्ठतम् अधिकृतहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष'मा जम्मा गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरे।

अध्यक्ष बरालले प्राकृतिक विपद्, महाभूकम्प, महामारीलगायतका राष्ट्रिय सङ्कटका समयमा कर्मचारी सञ्चय कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गर्दै आएको  र सोही निरन्तरतास्वरूप यो सहयोग गरिएको बताए। 

त्यसैगरी, कोषका प्रशासक श्रेष्ठले प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको औँल्याउँदै आगामी दिनमा पनि यस्ता सहयोग जारी राख्ने प्रतिबद्धता जनाए।

कर्मचारी सञ्चय कोषले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढीबाट प्रभावित नागरिकको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षबाट आवश्यक सहयोग र सहकार्य हुने अपेक्षा गरेको छ।

भदौ १७, २०८३ बुधबार १२:२१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।