हिमनदी भत्किने जोखिम अझै उच्च छ : चिनियाँ जलस्रोत मन्त्रालय

हिमनदी भत्किने जोखिम अझै उच्च छ : चिनियाँ जलस्रोत मन्त्रालय
१ सेप्टेम्बर २०२६ चिनियाँ समयअनुसार बिहान ८ बजे खिचिएको इम्प्याक्ट क्रेटरको ड्रोन तस्वीर। स्रोत: सीसीटीभी

एजेन्सी : नेपालको छोचेन खोला नजिकै रहेको इम्प्याक्ट क्रेटर अर्थात् प्रभाव क्षेत्र वरपरका हिमनदीहरू अझै पनि भत्किन सक्ने उच्च जोखिम रहेको चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै सिसिटिभी न्युजले जनाएको छ। 

चिनियाँ सञ्चारमाध्यम सिसिटिभी न्युजका अनुसार मन्त्रालयले दक्षिण-पश्चिम चीनको सिजाङस्थित गिरोङ काउन्टीमा लेदो र गेग्रानसहितको बाढीछि पूर्ण-श्रृङ्खलाबद्ध जोखिम मूल्याङ्कन तथा निरन्तर परामर्श गरिरहेको छ।

चिनियाँ समयअनुसार मंगलबार बिहान ८ बजे खिचिएको ड्रोन तस्वीर र सिन्थेटिक एपर्चर राडार प्रविधिको विश्लेषण अनुसार छोचेन खोलाको प्रभाव क्षेत्रमा जम्मा भएको पानीको ठूलो हिस्सा निकास भइसकेको छ। जसका कारण तल्लो तटीय क्षेत्रमा नदीको बहाव हाल सामान्य अवस्थामा फर्किएको छ। यद्यपि, प्रभाव क्षेत्रभन्दा २.५ किलोमिटर तल्लो भागमा साना-साना पोखरीहरू बनेका छन्। नदीको बहाव सामान्य देखिए पनि क्रेटर वरपरका उच्च हिमाली भागमा रहेका हिमश्रृङ्खला तथा हिमनदीहरू भने जुनसुकै बेला खस्न वा भत्किन सक्ने ठूलो जोखिम कायमै छ। 

ड्रोन फुटेज अनुसार पुरैपु साङपो फुटेको नदी किनारका ३ किलोमिटर क्षेत्रभित्र दुवैतर्फ ठूला-ठूला पहिरोहरू खसेका छन्। यदि ती स्थानमा पुनः पहिरो खसेमा नदी थुनिएर नयाँ बाँध बन्ने जोखिम उच्च छ।

रसुवागढी/केरुङ (गिरोङ) नाकाभन्दा माथिल्लो जलाधार क्षेत्रमा नेपालतर्फ ०.१ वर्गमिटरभन्दा ठूला हिमतालहरू देखिएका छैनन्। तर, चीनतर्फ रहेका १४ वटा हिमतालमध्ये १० वटालाई उच्च जोखिम र ४ वटालाई मध्यम-निम्न जोखिममा वर्गीकरण गरी मन्त्रालयले २४ सै घण्टा निगरानी गरिरहेको छ। उपग्रह (रिमोट सेन्सिङ) प्रविधि अनुसार यी १४ वटै हिमतालको जलसतहमा हाल कुनै ठूलो परिवर्तन नदेखिएको र तालहरू समग्रमा स्थिर रहेका छन्।

जोखिम व्यवस्थापनका लागि चीनको जलस्रोत मन्त्रालयको १४ सदस्यीय विशेषज्ञ टोलीले सीमावर्ती नदीहरू (पुरैपु साङपो, दोङलिन साङपो र गिरोङ साङपो) मा जलमापन यन्त्रहरू जडान गरी तल्लो तटीय क्षेत्र र उद्धार टोलीहरूका लागि पूर्वसूचना तथा अनुगमन प्रणाली सञ्चालन गरिरहेको छ।

भदौ १६, २०८३ मंगलबार १८:३६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।