पहिचान नभएपछि नम्बर राखेर गाडिँदै भोटेकोशी बाढीका मृतकको शव
बुटवल : भोटेकोशी बाढीमा ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवको पश्चिम नवलपरासीका विभिन्न सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गर्न थालिएको छ।
पहिचान हुन नसकेका शवमध्ये सुनवलको सामुदायिक वन र बर्दघाट नगरपालिका-२ स्थित चिसापानी सामुदायिक वनमा शव व्यवस्थापन गरियो।
सुनवलमा मंगलबार मात्रै ६८ वटा शव व्यवस्थापन गरियो। लगातारको वर्षाका कारण शव व्यवस्थापनका लागि प्रयोग गरिएका स्काभेटर, ट्रक तथा ट्याक्टर हिलोमा फसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खाल्डो खनेर शव व्यवस्थापन गर्यो। चिसापानी सामुदायिक वनमा पनि शव व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको छ।
व्यवस्थापन गरिएका प्रत्येक शवको पहिचान सहज बनाउन अंक राखिएको छ। शवलाई माटोले पुरेपछि पनि सोही स्थानमा फलामको प्लेट राखेर अंकमार्फत शवको विवरण सुरक्षित गरिएको छ। भविष्यमा परिवारका सदस्य वा आफन्तले डीएनए परीक्षणमार्फत शव पहिचान गर्न सकेमा पुनः उत्खनन गरी परिवारको जिम्मा लगाउन सकिने गरी शव व्यवस्थापन गरिएको जनाइएको छ।
यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल र पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताल पुगेर शव व्यवस्थापन स्थलको अनुगमन गरे। उनले शव व्यवस्थापनको अवस्था, पोष्टमार्टम तथा पहिचान प्रक्रियाबारे जानकारी लिए।
अनुगमनका क्रममा आचार्यले बाढी तथा पहिरोका कारण बेपत्ता भएका नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्ने बताए। रोजगारीका लागि घरबाहिर गएका नागरिक विपत्तिमा परेपछि परिवार नै अलपत्र पर्ने अवस्था रहेकाले संघ, प्रदेश र स्थानीय सरकारले आवश्यक साथ र सहयोग गर्ने उनको भनाइ छ।
आचार्यले शवको पोष्टमार्टममा संलग्न चिकित्सक तथा सहयोगी, स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ संवेदनशील भएर काम गर्न आग्रह गरे। शव व्यवस्थापनका लागि प्रदेश सरकारले आवश्यक स्रोतसाधन र आर्थिक अभाव हुन नदिने उनले स्पष्ट पारे।
नारायणी नदीमा आएको बाढीका कारण सुस्ता क्षेत्रमा पर्न सक्ने जोखिमप्रति पनि प्रदेश सरकारले विशेष ध्यान दिइरहेको आचार्यले बताए।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार सुस्ताको बस्तीमा तत्काल ठूलो जोखिम नरहे पनि नारायणी नदीले निरन्तर कटान गरिरहेको छ। नदी कटानका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै उनले प्रशासनले आवश्यक निगरानी गरिरहेको बताए।
लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले शव व्यवस्थापनका लागि प्रदेश सरकारले निरन्तर सहयोग गर्ने बताए। विपद्सम्बन्धी बैठक बसेर शव व्यवस्थापन, पहिचान तथा सम्बन्धित परिवारसम्म शव पुर्याउने प्रक्रियालाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए।
प्रदेश स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले लुम्बिनी प्रदेशमा शवको पोष्टमार्टमका लागि आवश्यक विशेषज्ञ चिकित्सकको संख्या कम रहेकाले अन्य स्थानबाट समेत चिकित्सक व्यवस्थापन गरी काम भइरहेको बताइन। शव व्यवस्थापनमा कुनै कमजोरी हुन नदिन संवेदनशीलताका साथ काम भइरहेको उनको भनाइ छ।
कतिपय स्थानमा शवबाट दुर्गन्ध फैलिन थालेको सूचना आएको भन्दै उनले सम्बन्धित अस्पताल प्रशासनलाई तत्काल व्यवस्थापन गर्न आग्रह गरेकी छन्। शव व्यवस्थापनका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको उनले बताइन।
भदौ १६, २०८३ मंगलबार १७:०१:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।