भोटेकोशी बाढीपीडितलाई गोल्याण फाउन्डेसनको साथ : स्थलगत राहतदेखि १ करोड आर्थिक सहयोगसम्म

भोटेकोशी बाढीपीडितलाई गोल्याण फाउन्डेसनको साथ : स्थलगत राहतदेखि १ करोड आर्थिक सहयोगसम्म

काठमाडौं : भोटेकोशी नदी बेसिनमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको राहत, पुनःस्थापना तथा स्वास्थ्य उपचारका लागि गोल्याण ग्रुपअन्तर्गतको ‘गोल्याण फाउन्डेसन’ प्रभावित क्षेत्रको ‘ग्राउन्ड जिरो’मै खटिएको छ।

फाउन्डेसनले नुवाकोटको विदुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका करिब ४०० बाढीपीडितलाई दैनिक खाना, स्वास्थ्य उपचार तथा बालमनोपरामर्श सेवा उपलब्ध गराइरहेको छ भने नेपाल सरकारको राहत कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोगसमेत प्रदान गरेको छ।

दैनिक ४०० जनालाई खाना र बालबालिकालाई मनोपरामर्श
बाढी आएको भोलिपल्ट देखि नै नुवाकोट पुगेको फाउन्डेसनको टोलीले विदुर नगरपालिका-३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालय होल्डिङ सेन्टरमा राहत कार्य सञ्चालन गरिरहेको छ।

उक्त होल्डिङ सेन्टरमा देवीघाट क्षेत्रका ६८ घरपरिवारसहित दैनिक करिब ४०० जनालाई बिहान, दिउँसो र बेलुकी गरी तीन पटक खाना र खाजाको प्रबन्ध मिलाइएको छ। यसका अतिरिक्त प्राथमिक स्वास्थ्य सेवा, लत्ताकपडा तथा खेल सामग्रीसमेत वितरण गरिएको छ।

फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति गैह्रेको नेतृत्वमा ५० जना स्वयंसेवक, कर्मचारी र मनोपरामर्शदाताको समूह फिल्डमा परिचालित छ। सेन्टरमा रहेका करिब ४० जना बालबालिकालाई विपद्को मनोवैज्ञानिक त्रासबाट मुक्त गराउन बालमनोपरामर्श तथा खेलकुद गतिविधि सञ्चालन गरिएको सीईओ गैह्रेले जानकारी दिए।

गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले अवस्था सामान्य नभएसम्म स्थलगत सहयोग जारी रहने बताए।

उनले भने, ‘यस्तो विपत्तिको घडीमा नागरिकलाई प्रत्यक्ष साथ दिनुपर्छ भनेर हामी बाढीको भोलिपल्टै नुवाकोट पुगेका हौँ। सरकारी निकायहरूसँग समन्वय गरेर राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइनेछ।’

राहत कोषमा १ करोड रुपैयाँ हस्तान्तरण
स्थलगत राहतसँगै गोल्याण ग्रुपअन्तर्गतको रिलायन्स स्पिनिङ मिल्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका प्रबन्ध निर्देशक अक्षय गोल्याण र निर्देशक शशिकान्त अग्रवालले अर्थमन्त्रीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। प्राकृतिक विपद्को समयमा सरकार र नागरिकलाई सहयोग पुर्याउने सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।

भदौ १६, २०८३ मंगलबार १३:२८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।