बाढी प्रभावित बालबालिकाको फोटो र भिडियो सामाजिक सञ्जालमा नराख्न बाल अधिकार परिषद्को आग्रह

बाढी प्रभावित बालबालिकाको फोटो र भिडियो सामाजिक सञ्जालमा नराख्न बाल अधिकार परिषद्को आग्रह

काठमाडौं : राष्ट्रिय बाल अधिकार परिषद्ले बाढी प्रभावित बालबालिकाको उद्धार तथा राहत वितरणका क्रममा खिचिएका फोटो र भिडियोहरू सामाजिक सञ्जाल एवं सञ्चारमाध्यममा पोस्ट नगर्न आग्रह गरेको छ।

गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको गोपनीयता र मर्यादाको सम्मान गर्न परिषद्ले सबै व्यक्ति, संघसंस्था तथा सञ्चारमाध्यमलाई अपिल गरेको हो।

परिषद्का सूचना अधिकारी रामबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा बालबालिकालाई राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराउँदाका तस्बिर तथा भिडियोहरू फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम, एक्स (ट्विटर), ह्वाट्सएप, भाइबरलगायतका कुनै पनि सामाजिक सञ्जालमा पोस्ट नगर्न र नगराउन अनुरोध गरिएको छ।

विपद्को समयमा बालबालिकाको पहिचान खुल्ने गरी संवेदनशील सामग्री सार्वजनिक गर्दा उनीहरूको आत्मसम्मान, गोपनीयता र मानसिक स्वास्थ्यमा असर पर्न सक्ने भएकाले यस्ता गतिविधि रोक्न परिषद्ले सचेत गराएको छ।

भदौ १६, २०८३ मंगलबार १३:१३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।